जबरजस्ती करणी र गर्भपतन कसुरमा कञ्चनपुर अनाथालय प्रमुख कारागार चलान
नाबालिकाहरूमाथि यौन दुराचार गर्ने कञ्चनपुर अनाथालय प्रमुख कारागार चलान
महेन्द्रनगरस्थित महाकाली बाल अनाथालयका नाबालिकाहरूमाथि बाल यौनदुराचार गरेको अरोपमा पक्राउ परेका कार्यालय प्रमुखलाई पुर्पक्षका लागि कारगार चलान गरिएको छ । अनाथालयका कार्यालय प्रमुखसमेत शंकरबहादुर चन्दलाई जिल्ला अदालत कञ्चनपुरले बुधबार ५० हजार धरौटी मागसहित पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश पदमराज पाण्डेयको इजलासले चन्दलाई तीन वटा कसुरमा कारागार चलानसंँगै धरौटीको आदेश गरेको छ । उनलाई बालयौन दुराचार, जबरजस्ती करणी र गर्भपतन कसुरमा कारागार चलान गरेको हो । ‘उनी माथि तीनवटा कसुर लागेको छ,’ जिल्ला अदालतकी स्रेस्तेदार जयन्ती अवस्थी भट्टले भनिन्, ‘बालयौन दुराचारमा धरौटी र अन्यमा कारागार चलानको आदेश भएको हो ।’
उनका अनुसार बालयौन दुराचार कसुरमा ५० हजार धरौटी माग गरिएको छ । यसैगरी जबरजस्ती करणी र गर्भपतनमा पुर्पक्षका लागि कारागार चलानको आदेश भएको हो ।
एक वर्षदेखि अनाथालयकी नाबालिकाहरूमाथि यौन दुर्व्यवहार तथा जबरजस्ती करणी गरेको आरोपमा चन्दलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक महिनाअघि पक्राउ गरेको थियो । कार्यालयमै चकलेट दिने तथा टीभी हेर्न दिने वहानामा बालिकाहरूमाथि यौनशोषण गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उनले एक नाबालिकाको गर्भसमेत पतन गराएपछि घटना बाहिर आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चन्द अनाथालय स्थापनादेखि नै कार्यालय प्रमुख थिए । अनाथालयमा रहेकी सुस्त मानसिक अवस्थाकी १४ वर्षीयालाई गर्भवती बनाएर गर्भपतनसमेत गराएको प्रहरीले जनाएको छ । कञ्चनपुरका डीएसपी प्रकाश डाँगीका अनुसार एक बालिकामाथि यौन दुर्व्यवहार तथा दुईमाथि जबरजस्ती करणी र एक बालिकाको गर्भपतन गराएको चन्दलाई अभियोग लागेको छ ।
१९ फागुन २०७९, शुक्रवार ११:२६ बजे प्रकाशित































