आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै
सत्ता साझेदार दलले गठन गरेको उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक आज शुक्रबार बस्ने भएको छ । राष्ट्रपति निर्वाचन मिति नजिकिँदै जाँदा आगामी राष्ट्रपति को हुने रु भन्ने विषयमा घनीभूत छलफल भईरहेको छ ।
बिहीबार नै बस्ने भनिएको संयन्त्र बैठक नेताका कार्यव्यस्तताका कारण आजलाई सारिएको थियो । नेपाल कम्युनिस्ट पार्टी ९एमाले० अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र बनेको छ ।
सभामुख निर्वाचनअघि बसेको संयन्त्र बैठक त्यसयता बसेको छैन । बैठकमा राष्ट्रपति निर्वाचन, सुदूरपश्चिम प्रदेश सरकारका साथै पछिल्लो समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने एजेन्डा छन् ।
उच्चस्तरी संयन्त्र बैठक बस्नुअघि हिजो बिहीबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल भएको थियो । उनीहरूले गत बुधबारसमेत छलफल गरेका थिए । गत सोमबार प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओलीसहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच सिंहदरबारमा छलफल भएको थियो ।
आगामी २५ फागुनमा राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ । त्यसैलाई लिएर राजनीतिक दलका शीर्षनेता तीव्र आन्तरिक छलफलमा छन् । आगामी २८ फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारीको पाँचवर्षे कार्यकाल पूरा हुनै लाग्दा नयाँ राष्ट्रपति चयनका लागि सरगर्मी बढेको हो ।
२७ माघ २०७९, शुक्रवार ०७:५१ बजे प्रकाशित































