सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्त भएको तीन साता सम्म पनि विश्वासको मत अनिश्चित
कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका राजेन्द्रसिंह रावलले अहिले सम्म विश्वासको मत लिएका छैनन् । नागरिक उन्मुक्ति पार्टीले ठोस निर्णय नगरेका कारण विश्वासको मत लिने मित अझै तय भएको छैन ।
पुस २७ मा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका रावलले माघ २७ अघि नै विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ । तर, सत्ता गठबन्धन भित्रै रहेको नागरिक उन्मुक्तिको अडानले विश्वासको मत लिने मिति निर्धारण हुन नसकेको हो ।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । अहिले ७ सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नहुँदा सम्म विश्वासको मत दिने आधार तय नहुने भन्दै आइरहेको छ ।
मुख्यमन्त्री रावलले विश्वासको मत नलिएका कारण तीन साता देखी दुई मन्त्रीहरू पनि जिम्मेवारी विहीन छन् ।
पुस २७ गते मुख्यमन्त्री रावलसँगै नेकपा माओवादी केन्द्रबाट संसदीय दलका नेता खगराज भट्ट र एमालेकी सन्तोष थापा शर्मा पनि मन्त्रीमा नियुक्त भएका थिए । उनीहरु दुबै जना मन्त्रीमा नियुक्त भएपनि अहिले सम्म जिम्मेवारी भने पाएका छैनन् ।
यहाँ ७ मन्त्री, ४ राज्यमन्त्रीसहित ११ सदस्यीय मन्त्रिमण्डल बनाउन सकिने संवैधानिक व्यवस्था छ तर नियुक्त भएका २ मन्त्रीको अहिले सम्म मन्त्रालय टुङ्गिएको छैन र थप मन्त्रीहरू पनि नियुक्त हुन सकेका छैनन् ।
मुख्यमन्त्री रावलले विश्वासको मत नदिला सम्म यी कामहरू अघि बढ्न नसक्ने बताइएको छ ।
सरकार गठन गर्दा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले सभामुख र उपसभामुखको निर्वाचनमा पनि समर्थन गरिसकेको छ । तर, मुख्यमन्त्रीलाई विश्वासको मत दिन विषयमा भने उनीहरुले आफ्नो माग सम्बोधन हुनुपर्ने अडान लिएका छन् ।
विश्वासको मत लिइसक्नु पर्ने अन्तिम दिन आउँदै गर्दा पनि नागरिक उन्मुक्तिले आफ्नो निर्णय भने गरिकसेको छैन । तर, केही दिन भित्रै ठोस निर्णय हुने संसदीय दलका नेता रामेश्वर चौधरी बताउँछन् ।
‘हाम्रा माग सम्बोधन भएको छैन । त्यसैले विश्वासको मत दिने विषयमा छलफल भएको छैन‘ उनले भने ’केही दिन भित्रै केही निर्णय हुन्छ ।‘
केही दिन पहिले काठमाडौँमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग नागरिक उन्मुक्तिका सांसद सहित भेट्न पुगेका मुख्यमन्त्री रावलले निर्धारित समय भित्रै विश्वासको मत पाउने एमाले सांसदहरूको दाबी छ ।
‘हामीले यस बिषयमा छलफल गरिरहेका छौँ’ प्रदेश सभा सदस्यसमेत रहेका नेकपा ९एमाले० का प्रदेश सचिव धर्मराज पाठकले भने निर्धारित समय भन्दा अघि नै विश्वासको मत मुख्यमन्त्री ज्यूले पाउनु हुन्छ ।’
सुदूरपश्चिम प्रदेश सभाको बैठक अहिले अनिश्चित छ । माघ ११ गते बस्ने भनिएको बैठक अर्को सूचना जारी नहुँदा सम्मको स्थगित गरिएको थियो । अब मुख्यमन्त्रीले विश्वासको मत लिने दिन बैठक बोलाउने तयारी गरिएको छ ।
१९ माघ २०७९, बिहीवार १२:२२ बजे प्रकाशित































