सुदूरपश्चिमका मुख्यमन्त्रीद्धारा विमान दुर्घटनाप्रति दुःख व्यक्त, घाइतेको उपचारमा विशेष ध्यान दिन निर्देशन
सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले पोखरा जहाज दुर्घटनामा मृत्यु भएका यात्रुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
आइतबार करिब साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो।
मुख्यमन्त्री रावलले एक शोक वक्तव्य जारी गर्दै उक्त दुःखद खबरले स्तब्ध र मर्माहत भएको बताएका छन्।
उक्त दुर्घटनामा निधन भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मुख्यमन्त्री रावलले शोक सन्तप्त परिवारजनमा संवेदना व्यक्त गरेका छन्।
‘घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै खोज, उद्धार तथा उपचारको यथोचित व्यवस्थापनका लागि अनुरोध गर्दछु,’ जारी वक्तव्यमा भनिएको छ। चार जना चालक दलका सदस्य र ६८ यात्रु बोकेको जहाज दुर्घटनाग्रस्त भएको थियो। नागरिक उड्डयन प्राधिकरणले उक्त दुर्घटनामा अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि गरिसकेको छ।
१ माघ २०७९, आइतवार २०:३५ बजे प्रकाशित






























