सभामुख छान्न नसक्दा सुदूरपश्चिममा धरापमा गठबन्धन
सातदलीय सत्ता गठबन्धनको एक घटक नागरिक उन्मुक्ति पार्टी नाउपा तटस्थ बस्दा सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचन अनिर्णीत बनेको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा ७ सदस्यसहित निर्णायक हैसियतमा रहेको नाउपाले शनिबार भएको दोस्रो पटकको निर्वाचनमा सत्ता गठबन्धनकै सभामुख उम्मेदवारलाई भोट दिएन ।
सुदूरपश्चिममा सत्ता गठबन्धनबाट माओवादीका भीमबहादुर भण्डारी र कांग्रेसका मानबहादुर रावल सभामुखका उम्मेदवार छन् । बिहीबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारको पक्षमा बहुमत नपुगेपछि शनिबार दोस्रो पटक निर्वाचन भएको थियो । बिहीबार नाउपाका लक्ष्मणकिशोर चौधरी र एमालेका चक्र मल्ल अनुपस्थित थिए भने एक मत बदर भएको थियो । यसले गर्दा सत्ता गठबन्धनका उम्मेदवार भण्डारीको पक्षमा २६ मत मात्रै परेको थियो । सभामुख निर्वाचित हुन २७ मत आवश्यक पर्छ ।
शनिबार भएको पुनः मतदानमा सत्ता गठबन्धनले त्यही मत पनि जोगाउन सकेन । गठबन्धनका उम्मेदवार भण्डारीको पक्षमा २२ मत मात्र आएपछि प्रदेशसभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य शिवराज भट्टले अस्वीकृत भएको घोषणा गरे । सत्ता गठबन्धनको निर्णायक नाउपाका ७ सांसद तटस्थ बसेकाले भण्डारीको पक्षमा २२ मत मात्र परेको हो । शुक्रबार बैठक बस्न नसकेपछि शनिबार पनि बैठक हुने निश्चित थिएन तर बिहान ११ बजे सर्वदलीय बैठक बसेर साँझ ६ बजे बैठक सञ्चालन गर्ने सहमति जुटेको कांग्रेस सांसद मेघराज खड्काले बताए । ‘हामीले त माघ २ मा गरौं भनेका थियौं तर सत्ता गठबन्धनका साथीहरूले आजै गरौं भनेपछि बैठक सञ्चालन भएको हो,’ उनले भने, ‘बैठक हुँदैन होला भन्ठानेर हाम्रो सांसद ९सरस्वती खड्का० त बाहिर गइसक्नुभएको थियो ।’
सुदूरपश्चिममा माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ गरी सत्तापक्षमा २९ सांसद छन् । अर्कोतिर कांग्रेसका १९, एकीकृत समाजवादीका ४ र १ स्वतन्त्र सांसद छन् । गठबन्धन दलबीच मुख्यमन्त्री एमाले, सभामुख माओवादी र उपसभामुख नाउपाले लिने सहमति छ । सहमतिअनुसार मुख्यमन्त्री नियुक्त गर्न सघाएको नाउपाले सभामुख निर्वाचनमा ‘हलो अड्काइरहेको’ छ ।
१ माघ २०७९, आइतवार १७:१३ बजे प्रकाशित






























