सुदूरपश्चिममा ११ बजे सर्वदलीय बैठक, ‘सम्पर्कविहीन’ सभाध्यक्षले भने -ब्याट्री सकिएको थियो
कैलाली । हिजो अनिश्चित समय सम्मको लागि स्थगित सुदूरपश्चिम प्रदेश सभाको बैठक बोलाउने बारे आज बिहान ११ बजे सर्वदलीय बैठक बस्ने भएको छ ।
अस्ति साँझ सभामुखमा कसैको पनि बहुमत पुग्न नसकेपछि हिजो बिहान ११ बजेको लागि बैठक बोलाइएको थियो । तर, हिजो सर्वदलीय बैठकमा कांग्रेसले निर्वाचन प्रक्रिया सुरबाट गर्नु पर्ने भनेपछि सहमति हुन सकेको थिएन । त्यसैबिच सभाध्यक्ष शिवराज भट्ट सम्पर्क विहीन भएपछि संसद् अनिश्चित भएको थियो ।
आज बिहान कुरा गर्दै सभाध्यक्ष भट्ट आफू सम्पर्कविहीन नभएको तर, मोबाइल अफ भएको बताए । ‘मेरो मोबाइलको ब्याट्री सकिएको थियो साथीहरूले बेपत्ता भनेछन्’ उनले भने ।
उनले आगामी संसद्वारे छलफल गर्न ११ बजे सर्वदलीय बैठक बोलाइएका समेत जनाए । कांग्रेसले नयाँ सिराबाट निर्वाचन प्रक्रियाको माग गरिरहेका बेला उनले भने ‘सबैसँग परामर्श गर्दा त्यो हुँदैन भन्ने आयो । अब पुरानै निरन्तरता हुन्छ ।’
हिजो साँझ सम्म सभाध्यक्ष सम्पर्कमा नआएपछि सत्ता गठबन्धनका २९ जनाले हस्ताक्षर गरेर तत्काल संसद् बोलाउन माग गरेका थिए ।
सभामुखका लागि माओवादी केन्द्रका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन् । उनीहरु बिच आज निर्वाचन गर्ने कि अर्को दिन भनेर आजकै सर्वदलीय बैठकले टुङ्गो लगाउने छ ।
३० पुस २०७९, शनिवार ०७:५२ बजे प्रकाशित






























