रेसुंगा विमानस्थलमा आज डेमो उडान हुँदै
गुल्मीको रेसुंगा विमान स्थलमा आज डेमो उडान हुँदैछ । २०६२ सालमा निर्माण प्रक्रिया अघि बढेको विमानस्थलमा निर्माण सुरु भएको झन्डै १५ वर्षपछि उडान हुन थालेको हो ।
तार एयरको ट्वीनअटर जहाज ११ बजे काठमाडौं विमानस्थलबाट रेसुंगा विमानस्थलका लागि प्रस्थान गर्ने छ । काठमाडौंबाट रेसुंगा विमानस्थलमा पहिलो उडानमार्फत यात्रुका रुपमा प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी, पूर्वपर्यटन एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पूर्वमन्त्री रामकुमारी झाँक्री, प्रदेशसभा सदस्य धनेन्द्र कार्की, रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, कांग्रेस प्रदेश समितिका उपसभापति भुवनप्रसाद श्रेष्ठ, माओवादी नेता बुद्धी जिसी र कांग्रेस नेता योगराज कँडेल विमानस्थल पुगेका छन् । गुल्मीको प्रतिनिधिसभाबाट निर्वाचित गोकर्णराज विष्ट भने अस्वस्थताका कारण अनुपस्थित हुनेछन् ।
२०६२ सालमा गुल्मीमा रेसुंगा विमानस्थल निर्माणका लागि प्रक्रिया अघि बढेपनि त्यसको काम २०६४ सालमा सुरु भएको थियो । बीचमा रोकिएको काम पुनः २०७४ मा प्रदीप ज्ञवालीले सुरु गराएका थिए । निरन्तर दबाबपछि १७ वर्षमा झन्डै २५ करोड खर्चेर विमानस्थल तयार भएको हो । विमानस्थलमा तारा एयरले नै २०७५ जेठ २५ गते परीक्षण उडान गरेको थियो ।
डेमो उडानका लागि तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु पनि रेसुंगा पुग्नेछन् । पहिलो जहाज रेसुंगा विमानस्थलमा झन्डै १ घण्टा बिताएर पुनः काठमाण्डौं फर्किने छ । डेमो उडानपछि नै तालिका बनाएर एकसातापछि नै नियमित उडान सुरु गर्ने गरी रेसुंगा नगरपालिकाले विमानस्थल सञ्चालनका लागि तयारी गरिरहेको छ ।
रेसुंगा विमानस्थल सञ्चालनको अवसरमा रेसुंगा नगरपालिकाले आज नगरपालिकाभित्र सार्वजनिक बिदा दिएको छ । विमानस्थल नगरपालिकाको वडा नं. १० मा पर्छ । विमानस्थल सञ्चालनपछि गुल्मीसहित छिमेकी जिल्ला अर्घाखाँची, प्यूठान, बाग्लुङका सर्वसाधरण प्रत्यक्ष लाभान्वित हुनेछन् । विमानस्थल निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणले ७८ रोपनी १० आना क्षेत्रफलमा विमानस्थल तयार गरेको हो । सरकारले सर्वसाधारणको २२ रोपनी जग्गा अधिग्रहण गरेर काम सुरु गरेको थियो । ४६ घर धुरीले मुआब्जा लिएका थिए । विमानस्थलको ५ सय ७० मिटरको धावनमार्ग छ ।
२४ पुस २०७९, आइतवार १२:३६ बजे प्रकाशित































