punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा जङ्गली जनावरबाट बाली जोगाउन रातभर जाग्राम

Chaupati
safha napa

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका फिरुवा राना खेतबारीमा लगाएको तरकारी बाली जोगाउन रातभर जाग्राम बस्दै आएका छन्।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली जनावरबाट खेतबारीमा लगाएको आलु, गोलभेँडा, काउलीलगायतका तरकारी बाली जोगाउन रानाले बारीमा डोरी बाँधेर ठाउँठाउँमा घण्टी झुण्याइ बजाउने गरेका छन् । चिसोमा खेतमै रातभर बस्न नसकिने भएकाले घण्टी झुण्याइएको लामो डोरी घरबाटै तानेर बजाउने गर्छन्।

“जङ्गली जनावर खेतबारीमा पसेको थाहा पाउने बित्तिकै घण्टी बजाउँछौँ,” उनले भने, “घण्टी जोरसँग बजाउन सुरु गरेपछि जनावर भाग्छन्, घण्टी बजाउन छाडेको केही बेरमै जनावर खेतमा पुनः आउने गर्दछन्, परिवारका सबै सदस्यले रातभर पालैपालो घण्टी बजाउने गरेका छौँ ।”

रातमा परिवारका सदस्य एक दुई घण्टामात्रै सुत्ने गरेको उहाँले बताए। नीलगाई, चित्तल र बँदेलले बढी सताउने गरेको उनको भनाइ रहेको छ । रखवारी गर्दागर्दै पनि जङ्गली जनावरबाट बाली जागाउने नसकिएको मानबहादुर रानाले बताए।

“खेतमा लगाएको गहुँबाली नीलगाई र चित्तलले खाएर पूरै नोक्सानी गरेको छ,” उनले भने, “रातको चिसोमा पूरै रात खेतमा बस्न सक्दैनौँ, खेतमा रखवारी गर्न नबसेका बेला जनावरले पूरै खाएर फर्कन्छन् ।” निकुञ्जबाट हुलका हुल जनावर आउने भएकाले खेतमा लगाएको बाली जोगाउन निकै मुस्किल भएको पूर्ववडाअध्यक्ष बाले रानाले बताए।

जनावरले बाली खाएर हैरान पारेसँगै पछिल्लो समय हात्तीले पनि सताउन थालेको छ । उनले भने, “हात्ती पनि आउन थालेपछि ज्यान जोगाउनै मुस्किल हुन थालेको छ ।” रानाका अनुसार मङ्गलबार दिनभर हात्ती उखुबारीमै बस्यो, धपाउने अनेक उपाय अपनाए पनि गएन, तीन बिघा जग्गामा लगाएको उखुमध्ये १० कट्टाको पूरै तोडेर र खाएर नोक्सानी गर्यो, राति नेपाली सेना र सशस्त्र प्रहरीको सहयोगमा भगाउन सक्यौँ । उहाँले अगाडि थप्दै भने, “उखुबारीमा हात्तीले पस्नुअघि स्थानीय जीतबहादुर भाटलाई घर भत्काउने क्रममा भाग्न खोज्दा लखेटेर गम्भीर घाइते बनायो, घाइते भाट अहिले बाँच्ने, मर्ने दोसाँधमा बाँकेको कोहलपुरस्थित अस्पतालमा उपचार गराइरहनुभएको छ ।”

हात्ती निकुञ्जमा फर्किए पनि पुनः बस्तीमा आउने डर भएको क्षेत्रका बासिन्दा निकै त्रसित अवस्थामा रहेको उनले बताए। वडाध्यक्ष नवलसिंह राना जङ्गली जनावरले निकै सताउन थालेकाले निकुञ्ज कार्यालयले नियन्त्रणको प्रयास गर्नुपर्ने बताउछन्।

“जङ्गली जनावर बस्ती छिर्ने छेउमा मेसवायर जडान गरिनुपर्ने हुन्छ”, उनले भने, “निकुञ्जले पहल गर्नुपर्यो, हामी पनि यसका लागि प्रदेश र सङ्घ सरकारलाई गुहार्छौँ, जङ्गली जनावरकै कारण स्थानीय बासिन्दामा भोकमरी हुने सम्भावना बढेर गएको छ ।” खेतबारीमा लगाएको बाली पूरै जङ्गली जनावरले खाएर सखाप पार्ने भएकाले खेतबारी छँदाछँदै अन्नको जोहो गर्नका लागि अन्यत्र जानुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

“जङ्गली जनावरकै कारण स्थानीय बासिन्दा रातिमा निदाउन पाइँदैन,” उनले भने, “जनावर भगाउन घण्टी बजाउनेदेखि टौवाबाट उज्यालो गर्नेसम्मका अनेकौँ उपाय अपनाए पनि जङ्गली जनावर खेतमा पसेर बाली पेटभर खाएर मात्रै फर्कन्छन् ।” हिउँदको बेला मात्रै नभएर निकुञ्जका जनावर स्याली नदीमा बाढी आएका बेलासमेत खेतमा पस्ने गरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ । धान, गहुँलगायतका बाली पूरै जङ्गली जनावरले सखाप पार्न थालेपछि केही किसानले उखु खेती गर्न थालेका छन् । उखु पनि हात्तीले खान थालेपछि किसान निकै निरास भएका छन् ।


२० पुस २०७९, बुधवार २०:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु