कञ्चनपुरमा लुटपाट, चोरी र डकैतीमा संलग्न तीन भारतीय नागरिक हतियार सहित समातिए
कैलाली । कञ्चनपुरमा हतियार सहित लुटपाट गर्न आएका तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार जिल्लाको बेलौरी नगरपालिका–१ को बैशाखाबाट भारतको लखिमपुर खिरी तहसिल मिलौली बस्ने ३२ वर्षीय राजु इद्रिसीलाई ६ राउन्ड गोलीसहित प्रहरीले पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डिएसपी० चक्रबहादुर शाहले उनलाई नियन्त्रणमा लिएको स्थानमा खोज तलास गर्ने क्रममा थप एक राउन्ड गोलीसहित लोड गरेको कटुवा पेस्तोल बरामद गरिएको जानकारी दिए ।
नजिकै रहेको उखुबारीमा भारतीय नागरिक २७ वर्षीय मुजिवा बञ्जारा र ४२ वर्षीय यूसुफ अलीलाई पक्राउ गरिएको डिएसपी शाहले बताए । उनीहरुको साथबाट ७ हजार भारतीय रुपैयाँ समेत बरामद गरिएको छ । उनीहरुको समूह कञ्चनपुरमा लुटपाट र चोरी डकैतीमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।
पुस ९ गते बेलौरी नगरपालिका–१ फटैयागाउँमा भारतीय जस्ता देखिने ६र७ जनाको समूहले स्थानीय बासिन्दालाई हातहतियार देखाएर ३ लाख २० हजार रुपैयाँ, सुनका गरगहना, मोबाइल लुटेको, पुस १२ गते बेलौरी नगरपालिका–२ को बैजुडाँडामा स्थानीयको घरमा प्रवेश गरी नगद, गरगहना र मोबाइल लुटेको घटनामा उनीहरुको समूह संलग्न रहेको पाइएको प्रहरी नायब उपरीक्षक शाहले बताए ।
लुटपाटमा संलग्न भएको कुरा स्वीकार गरे पनि उनीहरुको साथबाट ७ हजार भारतीय रुपैयाँ बाहेक अन्य सरसामान बरामद भने नभएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान जारी छ ।
१७ पुस २०७९, आइतवार २०:२६ बजे प्रकाशित






























