देशमा रोजगारी पाउन सकस,काम खोज्दै चिसोमा भारत जानेको लर्को
कैलालीमा मंगलबार दिनभर घाम झुल्केको थिएन्, चिसो बढेको थियो । कठ्यांग्रिँदो चिसोमा साना केटाकेटी बोकेर त्रिनगर–गौरीफन्टा नाकाबाट केही नेपाली भारत पस्दै गरेका थिए । यो दृश्य निकै पीडादायी देखिन्थ्यो ।
सुदूरपश्चिम र कर्णालीका पहाडी जिल्लाबाट बसको यात्रा गरेर लालाबालासहित भारत पस्न लागेका नेपालीले अझै गन्तव्यमा पुग्न १० देखि १६ घण्टासम्म बस र ट्रेनको यात्रा तय गर्नुपर्नेछ । घरबाट स्वस्थ अवस्थामा निस्केका बालबालिका गन्तव्यसम्मको यात्रा पार गर्दासम्म चिसोले बिरामी पर्ने डर अभिभावकमा छ । लालाबालासहित चिसो मौसममा पनि घरबाट रोजगारीका लागि भारतका सहरमा कष्टकर यात्रा गरी निस्कनुपर्ने आफूहरूको बाध्यता रहेको उनीहरू सुनाउँछन् ।
डोटी सिलगडीका ६० वर्षीय हर्कबहादुर विष्ट मंगलबार कैलालीको त्रिनगर भन्सार नाकामा भारत पस्दै गर्दा भेटिए । सोमबार रात्रि बस चढेर उनी धनगढी आइपगेका हुन् । दिनभर धनगढीमा घाम झुल्केन ।
चिसोलेकठ्यांग्रिँदै उनी भन्सार नाका दिउँसो ४ बजे पुगे । भन्सार नाकापारि गौरीफन्टाबाट १० घण्टा राति बस चढेर उनी भारतको दिल्ली पुग्ने छन् । त्यहाँबाट रेलको यात्रा गर्दै भारतको आन्ध्रप्रदेशको तेलंगना सहर रोजगारीका लागि जाने छन् ।
विष्ट त्यहाँ बजारको चौकीदारी गर्छन् । तेलंगना सहरमा चौकीदारी गरेको उनलाई २० वर्ष पुग्न थालिसक्यो । जीवनको साठी पुग्दा उनले भारतमा ४० वर्ष काम गरेर आफूमाथि आश्रित परिवारको पेट पाल्न सकेको बताए । ‘जीवन भारतकै सहरमा काम गर्दागर्दै बित्ने भयो,’ उनले भने, ‘घरको आम्दानीले नपुग्ने भएपछि भारत पस्ने हाम्रो बाध्यता हो ।’
आमनिर्वाचन अघि उनी घर आएका थिए । भोट हालेर पुनः भारत पस्न लागेका हुन । नेपाली नागरिक भएको नाताले भोट खसाल्न जहिले नै देश फर्कने गरेको उनले बताए ।
कैलाली साढेपानीका दिलबहादुर साउदले नेपालमा अब बन्ने सरकारले भारतसँगको सम्बन्धलाई राम्रो बनाउनुपर्ने धारणा राखे । कहिलेकाहीं सीमालगायत विभिन्न कारणले दुई देशबीच तिक्तता पैदा भएपछि त्यसको प्रत्यक्ष असर भारतमा काम गरिहरेका नेपालीले समेत भोग्नुपर्ने उनको अनुभव छ ।
कैलालीको त्रिननगर भन्सारबाट दिनहुँ तीन देखि चार सय नेपाली भारतका विभिन्न सहरमा काम गर्न गइरहेको सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका सहायक निरीक्षक असई मीनबहादुर ऐरले बताए ।
१४ पुस २०७९, बिहीवार १५:५६ बजे प्रकाशित































