देउवाले भने– गठबन्धनलाई १५ वर्षसम्म लैजाने इच्छा छ
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनलाई १५ वर्षसम्म लैजाने इच्छा रहेको बताएका छन् । आज सत्तारुढ गठबन्धनले डडेल्धुरामा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।
देउवाले ओलीले संविधानमाथि हमला गरेकै कारण सबै मिलेर गठबन्धन गरेको उल्लेख गरे । केपी ओलीले राष्ट्रपतिलाई रातिको २ बजे उठाएर संसद भंग गरे ।
एकपछि अर्को असंवैधानिक काम गर्दै ओलीले हामीले बनाएको संविधान च्यात्न खोजेपछि उनलाई हटाउन बाध्य भएर गठबन्धन गरिएको हो,’ देउवाले भने, ‘मेरो इच्छा नभए पनि सबैको आग्रहमा प्रधानमन्त्री भएको हुँ । संविधानको रक्षाका निमित्त गठबन्धनलाई १०–१५ वर्षसम्म लैजाने इच्छा छ ।’
देउवाले छिमेकी मुलुक चीन र भारतसँग लडेर नसकिने भएकाले मित्रता कायम गरेर अघि बढनुको विकल्प नभएको समेत बताएका छन् । उनले भने, ‘हाम्रो क्षमताले मित्र राष्ट्रसँग लडेर सकिँदैन । बरु हातेमालो गरेर अगाडि बढ्ने हो ।’
देउवाले राष्ट्रिय गौरवको पश्चिम सेती परियोजना निर्माणको काम अघि बढिसकेको दाबी गर्दै डडेल्धुराको विकासका लागि प्रतिबद्ध रहेको समेत बताए ।
१७ कात्तिक २०७९, बिहीवार २०:३२ बजे प्रकाशित































