निर्वाचन आयोगलाई ८० वटा सवारी साधन हस्तान्तरण
काठमाडौ – भारत सरकारले निर्वाचन आयोगलाई ८० वटा सवारी साधन हस्तान्तरण गरेको छ । आगामी मंसर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको लागि भारत सरकारले उपहार स्वरुप स्करपियो गाडीको साँचो प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हस्तान्तरण गरेका हुन् ।
सवारी साधन हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले सहयोगका लागि भारत सरकार तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई धन्यवाद दिएका छन् । नेपाल र भारतबीच लामो समयदेखि रहेको मित्रताबारे उल्लेख गर्दै उनले दुई देशबीचको सम्बन्ध आपसी सद्भाव, द्विपक्षीय सहयोग र सहकार्यमा आधारित भएको बताए ।
१७ कात्तिक २०७९, बिहीवार २०:४० बजे प्रकाशित































