दार्चुलामा जिप दुर्घटना, एक जनाको मृत्यु
दार्चुलामा जिप दुर्घटनादार्चुलाको अपिहिमाल गाउँपालिका–५ तिम्लामा गए राति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
मृत्यु हुनेमा अपिहिमाल–६ का १८ वर्षीय दिनेशसिंह धामी छन् । उनको घटनास्थलमै मृत्यु भएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरेले जानकारी दिए ।
मार्मा गाउँपालिकाको लटिनाथबाट अपिहिमालको मकरीगाडतर्फ जाँदै गरेको म१ज २३३ नम्बरको जिप दुर्घटनामा परेको हो । जिप सडकबाट झण्डै २०० मिटर तल खसेको र त्यसमा चालकसहित नौजना सवार रहेका अपिहिमाल गाउँपालिका–५ का वडाध्यक्ष राजेन्द्रसिंह धामीले बताए ।
तीन जनाको प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका छन् । घाइते पाँच जनाको लटिनाथ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
७ असोज २०७९, शुक्रवार ०८:२७ बजे प्रकाशित































