निर्वाचित दलित महिलाले पालिका स्तरिय सञ्जाल गठन गर्ने
स्थानीय तहमा निर्वाचित दलित महिला सदस्यका मागहरु सम्बोधन गराउन पालिका स्तरिय दलित महिला सस्यको सञ्जाल गठन गरिने भएको छ ।
पालिकामा दलित महिला सदस्यले मागेको योजना नपाइने, नीति कार्यक्रममा सहभागिता नगराइने जस्ता समस्या देखिन थालेपछि दलित महिला सदस्यले पालिका स्तरिय सञ्जाल गठन गर्ने निर्णय गरेका हुन् ।
बुधबार धनगढीमा भेला भएका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, डोडी र अछामका निर्वाचित दलित महिला सदस्यहरुको सम्मेलनले आफ्ना मागहरु पुरा गराउन दवाव दिने उद्देश्यले पालिका स्तरिय सञ्जाल बनाउने निर्णय गरेका हुन् ।
जस अनुसार धनगढी उप महानगरपालिकामा माया ताम्राकारको संयोजकत्वमा सञ्जाल कमिटि बनेको हो । ‘अन्य पालिकामा पनि छिट्टै सञ्जाल बनाउने भन्ने सहमति भएको छ,’ भेला आयोजक दलित महिला संघका कैलाली संयोजक विनोद घिमिरेले भने, ‘दुई चार दिनमा ६ वटै पालिकामा सञ्चाल गठन हुने छन् ।’
सम्मेलनको आयोजना सम विकास केन्द्र नेपाल, दलित महिला अधिकार मञ्च नेपाल र दलित महिला संघले गरेका थिए ।
भेलामा सहभागि दलित महिला सदस्य मध्य अधिकांसले आफ्ना मुद्धामा वडा अध्यक्ष र पालिका प्रमुखहरु सकारात्मक नदेखिएको गुनासो गरेपछि पालिका स्तरिय दलित महिला सदस्यको सञ्जाल गठन गरी अघि बढ्ने निर्णय भएको दलित महिला अधिकार मञ्च कैलालीकी अध्यक्ष सावित्रा किमिरेले बताइन् । एउटै व्यक्तिले बोलेको भन्दा सामुहिक रुपमा आवाज उठ्दा दवाव सिर्जनागर्न सकिन्छ भन्ने निक्यौल गरेर सञ्चालन गठन गर्ने निर्णय गरेको उनले बताइन् ।
दलित महिला संघकी संस्थापन अध्यक्ष दुर्गा सोपले जातीय छुवाछुतको अन्त्यका लागि निर्वाचित दलित महिला सदस्यले भुमिका खेल्नुपर्ने बताइन् । उनले जातीय छुवाछुत अन्त्य गरी पिछडिएका नागरिकलाई माथी उठाउने उद्देश्यलेनै संविधानमै वडामा दलित महिला अनिवार्य गरिएको बताइन् ।
२२ भदौ २०७९, बुधवार १९:४६ बजे प्रकाशित































