अबको निर्वाचनमा सत्ता गठबन्धन कायम हुन्छ : सञ्चारमन्त्री कार्की
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाँच दलीय गठबन्धन कायम रहने बताएका छन् । बुधबार काठमाडौंमा स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिसँगको भेटवार्ता कार्यक्रममा बोल्नुहुँदै सञ्चारमन्त्री कार्कीले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले हासिल गरेको सफलता आगामी निर्वाचानमा पनि हासिल गर्नुपर्ने उल्लेख गरे।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसलाई स्थानीय तह निर्वाचनकै हैसियतमा पुर्याउने गरी आ–आफ्नो ठाउँबाट लाग्न पार्टीको सिङ्गो पंक्तिलाई उनले आह्वान गरे । मुलुकको ऐतिहासिक राजनीतिक परिवर्तनको नेतृत्व गरेको कांग्रेसलाई मुलुकको आर्थिक समृद्धिको दिशामा अग्रसर गराउने जिम्मेवारी निर्वाचनबाट पाउने गरी निर्वाचन तयारीमा जुट्न सबैलाई आग्रह पनि गरे ।
मुलुकको स्थिरता र तीव्र आर्थिक विकासका लागि नेपाली कांग्रेस र सत्तारुढ गठबन्धनको विकल्प नभएको मन्त्री कार्कीले पटक–पटक दोहोर्यएका छन् । मन्त्री कार्कीले पाँच वर्षपछि हुने स्थानीय तह निर्वाचनमा पनि नेपाली काँग्रेस नै विजयी हुनेगरी काम गर्न स्थानीय तहका पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गरे ।
उनले विकास निर्माण, जनताको सेवा प्रवाह र उनीहरुको गुनासो तत्काल सम्बोधन गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाउन स्थानीय तहको सरकारले ध्यान केन्द्रित गर्नुपर्ने स्पष्ट परे । मन्त्री कार्कीले जनतालाई मर्का नपर्ने गरी करको दर तोक्न पनि स्थानीय तहका जनप्रतिनिधिलाई सुझाव दिए। मन्त्री कार्कीले स्थानीय तहमा करका दरहरु निर्धारण गर्दा सबैको सहमति लिन जरुरी रहेको पनि उल्लेखख गरे।
१ भदौ २०७९, बुधवार १४:२७ बजे प्रकाशित































