सुदूरपश्चिममा वल्के पर्व मनाइँदै
सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासपूर्वक आज वल्के पर्व मनाइँदै छ। यो प्रदेशमा वैशाख महिनामा मनाइने बिशु पर्व मरौला भनेर खाने तथा भदौ महिनामा मनाइने वल्के पर्व बाचेँ भनेर खाने पर्वका रूपमा मनाइने चलन रहेको छ।
साउन मसान्त र भाद्र सङ्क्रान्ति गरी दुई दिन मनाइने यो पर्वको पहिलो दिन हिजो प्रत्येक घरमा मिठोमसिनो खानाका स्थानीय परिकार बनाइएर मनाइएको थियो भने आज दोस्रो दिन पिँडालुको कलिलो पात, दूध र दही सगुनका रूपमा आफूभन्दा ठूलाबडालाई तथा छिमेकीलाई बाँडेर प्रदेशका नौवटै जिल्लामा ‘वल्के चाड’ हर्षोल्लासपूर्वक मनाइँदै आइएको छ ।
रोजगारी तथा काम विशेषले घर तथा जिल्ला बाहिर गएका यहाँका नागरिक पनि वल्के पर्व मनाउन अहिले आ–आफ्ना घरमा फर्किएका कारण यहाँका बजार तथा गाउँमा निकै चहलपहल बढेको छ।
आफ्ना मान्यजन, इष्टमित्र, छरछिमेकीलाई सगुनका रूपमा पिँडालुको ‘गाभा’ अर्थात् कलिलो पात, हरियो साग, दूध, दही दिएर सम्मान गर्ने र आशीर्वाद साटासाट गर्ने विशिष्ट खालको मौलिक परम्परा यस क्षेत्रमा शताब्दीयौँदेखि रहिआएको छ ।
वल्के चाडका दिन विवाहिता छोरीलाई माइतीघरमा आमन्त्रण गरी यहाँका स्थानीय परिकार लाउन (पुरी), बावर (सेल), चामलको पिठोबाट बनेका माणा, निसौसे, गतानी, डुब्कालगायतका स्थानीय खानाका मिठो परिकार पकाएर खुवाउने र खाने प्रचलन छ।
यसरी छोरी चोलीलाई खुवाएमा पुण्य प्राप्त हुन्छ भन्ने मान्यताले यहाँ आजको दिन सबैले आ–आफ्ना विवाहिता छोरी माइतीमा बोलाउने चलन रहेको छ।
वल्के चाडमा एक महिना पहिले भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिँधेर बनाइएको लेदो हत्केला र खुट्टाको औँलामा लगाएर रङ्ग्याइने चलन छ।
वर्षातको मौसममा खेतबारीमा काम गर्दा हात र खुट्टामा देखिने छालासम्बन्धी रोगको सङ्क्रमणबाट बच्न सकिने जनविश्वास रहेको छ। रोगको सङ्क्रमणबाट बच्न हातखुट्टा रङ्ग्याइने हुँदा यो चाडलाई शरीरबाट ‘लुतो फाल्ने’ चाडका रूपमा समेत लिइने चलन छ।
१ भदौ २०७९, बुधवार ०६:३३ बजे प्रकाशित































