डडेल्धुरा अस्पताललाई पिसिआर मेसिन हस्तान्तरण
धनगढी,असार ७ । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको बिशेष पहल र ह्युमानिटी फाउण्डेशनको सहकार्यमा कोरोना परीक्षणका लागि पिसिआर मेसिन खरिद गरी डडेल्धुरा अस्पताललाई हस्तान्तरण गरेको छ।
मेसिन काठमाडौंबाट ट्रकमा हालेर मन्त्रीका प्रमुख स्वकीय सचिव हितेश ओझाले आफै सडक मार्ग बाट कैलाली पुगाइएका थिए ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको पहलमा यो कार्य गरिएको मन्त्री भट्टका प्रमुख स्वकीय सचीव हितेश ओझाले बताए ।
आइतबार प्रमुख स्वकीय सचिव ओझा, फाउण्डेशनका अध्यक्ष श्याम तायलले डडेल्धुरा उप–क्षेत्रीय अस्पतालका अध्यक्ष करुणाकर ओझालाई मेसिन हस्तान्तरण गरे। आजै मेसिन डडेल्धुरा लगिने छ।
प्रदेशमा एक मात्र पिसिआर मेसिन भएकाले संकलन भएको स्वाव नमूना समेत परीक्षण हुन नसक्दा काठमाडौं पठाइँदै आएको छ।
भारतबाट सबैभन्दा धेरै नागरिक प्रदेशमा आएको, केहीले ज्यान समेत गुमाएकाले थप जटिलता बढ्न सक्ने भएकाले परीक्षण बढाउन सामाजिक क्षेत्रको लगानीमा मेसिन खरिद गरिएको हो ।
फाउण्डेशनलाई मेसिन खरिदका लागि समाजसेवी, बुद्धिजिवी तथा प्रवासी नेपालीबाट पनि सहयोग प्राप्त भएको अध्यक्ष श्याम तायलले बताए। मेसिन खरिदका लागि अहिलेसम्म ६० लाख रुपैयाँ प्रतिबद्धता आएको र पैसा उठ्न बाकी रहेको तायलले बताए।
हाललाई दुई हजार पाँच सय थान पिसिआर किट पनि प्राप्त भएको उनले बताए। मेसिन जडान गर्न एक हप्ता जति लाग्नसक्ने अस्पतालका अध्यक्ष ओझाले बताए।
७ असार २०७७, आइतवार १३:२४ बजे प्रकाशित































