जनैपूर्णिमाका लागि गोसाइँकुण्डमा ओइरिँदै भक्तजन
जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थ गोसाइँकुण्ड स्नानका लागि भक्तजन आउने क्रम जारी छ । नागपञ्चमीबाटै सुरु भएको धार्मिकयात्रा अन्तर्गत २३ गते पुत्रदा एकादशीसम्म करिब २ हजार भक्तजनले गोसाइँकुण्डको दर्शन गरिसकेको र जनैपूर्णिमाका लागि भक्तजन आउने क्रम जारी रहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।
यही साउन २७ गते जनैपूर्णिमाको मुख्य पर्वका दिन स्नान तथा पूजाआजाका लागि १ हजारभन्दा बढी भक्तजन धार्मिकमार्गबाट शुलाद्री आरोहणका लागि आज बिहानैदेखि धुञ्चेबाट प्रस्थान गरिसकेको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले बताए ।
यात्रुको सङ्ख्या आकलन गर्ने काम निकुञ्जबाट भइरहेको बताउँदै अधिकृत भट्टराईले लौरीको नाममा वनस्पति नकाट्न, फोहरमैला जथाभावी नफ्याँक्न र चन्दनबारी तथा चोलाङपाटीको रेडपाण्डा बासस्थान क्षेत्रमा होहल्ला नगर्न यात्रुसमक्ष अनुरोध गरेका छन् । गोसाइँकुण्ड स्नानका लागि आज बुधबार र भोलि बिहीबारसम्म १० हजारभन्दा बढी भक्तजन रसुवा प्रवेश गर्ने अनुमान गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले अनुमान गरेको छ ।
गोसाइँकुण्ड तीर्थको स्नानका लागि रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नवलपरासी, चितवान, कास्की, मकवानपुर, पर्सा, काठमाडौँ, भक्तपुर, ललितपुर, छिमेकी जिल्ला धादिङ, नुवाकोट जिल्लाबाट भक्तजनको आगमन भएको बताइएको छ ।
गोसाइँकुण्ड स्नान गराउन आवश्यक सुरक्षासहित गोरखनाथको मूर्ति शिरमा राखी गोरखनाथका पुजारी बाबा मङ्गलबार नै गोसाइँकुण्ड प्रस्थान गरिसकेको प्रहरीले जनाएको छ । जनैपूर्णिमाका अवसरमा प्रत्येक वर्ष गोरखनाथलाई गोसाइँकुण्ड पुर्याउने चलन रहिआएको छ ।
२५ साउन २०७९, बुधवार ११:४५ बजे प्रकाशित































