punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

१४ बुँदे घोषणापत्र जारी गर्दै धनगढीमा सकियो धामी–झाँक्री सम्मेलन

Chaupati
safha napa

कैलालीको धनगढीमा सम्पन्न मर्यादित महिनावारीको लागि तीनदिने धामी–झाँक्री सम्मेलन १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले मर्यादित महिनावारीको वातावरण निर्माण गर्न धामी–झाँक्रीले महत्वपूर्ण भूमिका खेल्न सक्ने तथ्यलाई मध्यनजर गरी महिनावारीमा भेदभाव गर्ने, छुवाछुत गर्ने कु–प्रथाको अन्त्य गरी महिनावारीलाई मर्यादित बनाउनुपर्ने घोषणा गरेको छ ।

महिनावारी सृष्टिको आधार भएकाले यसलाई मर्यादित बनाउनुपर्छ भन्ने कुराको बोध भएको भन्दै धामी झाँक्रीले महिनावारी अवस्थामा रहेका किशोरी र महिलालाई छुवाछुत नगरी उचित सम्मान प्रकट गर्दै महिनावारीलाई मर्यादित बनाउन विशेष पहल गर्ने प्रतिबद्धता गरेका छन् ।

समाजमा हरेक किशोरी र महिलालाई सम्मानपूर्वक जीवन यापन गर्ने वातावरण सिर्जना गर्न उनीहरुलाई कुनै पनि किसिमको लैंगिक भेदभाव नगरी मर्यादित महिनावारीमैत्री पारिवारिक वातावरण तयार गर्दै जाने अग्रसरता लिने बताइएको छ ।

घर–परिवारमा मर्यादित महिनावारी मैत्री बनाउन किशोरी, महिलाहरुलाई महिनावारी हुने ५ दिन र महिनावारी नहुने २५ दिन समान व्यवहार कार्यान्वयन गर्नुपर्ने उनीहरुको घोषणापत्रमा उल्लेख छ ।धामी–झाँक्रीसँग हेराउन आएका व्यक्तिहरुमा आत्मविश्वास बढाउनको लागि मर्यादित महिनावारीको बारेमा सू–सुचित गर्ने र घरमा मर्यादित महिनावारी सम्बन्धी सूचना तथा सन्देशहरु टाँस गर्ने उनहहरुको प्रतिबद्धता छ ।

महिनावारीको समयमा पोषण, आवास, सरसफाइ, स्वास्थ्य, शिक्षा, सहभागिताको लागि सकारात्मक सहयोग गर्नुपर्ने, विद्यालयलाई मर्यादित बनाउन गाउँपालिका तथा नगरपालिकासँग समन्वय गरेर जनचेतनामूलक क्रियाकलाप गर्ने तथा महिनावारी भएको समयमा पनि किशोरीहरुलाई विद्यालय जान प्रोत्साहित गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ ।

विद्यालयहरुलाई महिनावारी मर्यादित विद्यालय बनाउन महिनावारी मैत्री चर्पी, पानी तथा महिनावारी सामग्री व्यवस्था गर्न पालिकालाई अनुरोध गर्ने, प्रदेश तथा पालिकासँग समन्वय गरेर समुदायमा मर्यादित महिनवारीसम्बन्धी जनचेतना जगाउने, तालिम, गोष्ठी, सडकनाटक, पोस्टर, पम्प्लेट आदिका लागि बजेट व्यवस्थापन गर्नुपर्ने उनीहरुको सुझाब छ ।

पालिकाले धामी–झाँक्री, अभियन्ता, पत्रकार आदि हरुलाई मर्यादित महिनावारीको प्रचार प्रसार गर्न परिचालन गर्नुपर्ने, समाजमा आध्यात्मिक, धार्मिक गुरुका रुपमा पहिचान पाएका धामी–झाँक्रीमध्ये मर्यादित महिनावारीलाई प्रोत्साहन, प्रवर्द्धन गर्नेहरुका लागि उचित पुरस्कार र सम्मानको व्यवस्था गर्नुपर्ने । त्यसका लागि सरकारी, गैर सरकारी तथा निजी क्षेत्रलाई समेत विशेष अनुरोध गरिने उनीहरुले बताएका छन् ।

समुदायमा मर्यादित महिनावारी प्रवर्द्धन गर्न दिवसहरु जस्तैः महिनावारी व्यवस्थापन दिवस, मे २८ तथा मर्यादित महिनावारी दिवस, डिसेम्बर ८ अन्तरराष्ट्रिय महिला दिवस तथा १६ दिने लैंगिक हिंसाविरुद्धको अभियान आदिलाई विशेष महत्वका साथ मनाउने, महिनावारी कानुन ९३ महिना जेल वा ३००० जरिवाना वा दुवै०को पालना गर्न गराउन प्रचार–प्रसार गर्ने उनीहरुको प्रतिबद्धता छ ।

बिहीबार देखि सुरु भएको मर्यादित महिनावारीका लागि धामी झाँक्री सम्मेलन शनिबार सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री अमरबहादुर साउदले समापन गरेका हुन् । समापन कार्याक्रममा राज्यमन्त्री साउदले मर्यादित महिनावारीका लागि धामी झाँक्री सम्मेलनले जारी गरेको घोषणापत्र​पत्र कार्यान्वयन गर्नका लागि प्रदेश सरकारको सहयोग रहने प्रतिबद्धता जनाए । उनले महिनावारी भएको वेला हुने विभेद विस्तारै कम हुँदै गएको बताए ।

कोइका परियोजना सल्लाहकार जोङ हा ली ले छाउपडी प्रथालाई व्यवस्थित गर्नका लागि नै आफू कोरियाबाट नेपाल पुगेको बताइन् । उनले छाउपडी अर्थात् महिनावारीप्रति समाजले हेर्ने दृष्टिकोण फेर्नका लागि कुनै एक व्यक्ति लाग्नुभन्दा पनि सबैको भूमिका रहने बताइन् ।

यस्तै, कार्यक्रममा पिसपिन बाजुराका सल्लाहकार लालबहादुर ओलीले धामी झाँक्रीहरुको विश्वास समाजमा धेरै भएको बताउँदै उनीहरुले पनि सन्देशमूलक कार्य गर्न सक्ने धारणा व्यक्त गरे । उनले छाउपडी भन्ने शब्दलाई रुपान्तरण गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा खत्याड गाउँपालिका मुगुका उपाध्यक्ष सरिता रोकायाले महिनावारी भएको वेला हुने विभेदको अन्त्यका लागि पालिका लेभलबाट हुने आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता जनाइन् । आफू पहिलोपटक महिनावारी हुँदा ९ दिनसम्म गोठमा बस्नुपरेको पीडा सुनाउँदै उनले अब त्यस्तो अवस्था सिर्जना हुने नदिने गरी काम गर्ने धारणा व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा सहभागी धामी झाँक्रीहरुले महिनावारीको बारेमा समाजमा भएको अन्धविश्वास तोड्न आफ्नो सहयोग रहने बताए । अछामबाट आएका धामी डिल्लीराज आउजीले तालिमका क्रममा महिनावारीका बारेमा सिकेका कुरा कार्यान्वयनमा ल्याउने बताए । यस्तै, बाजुराको बडीमालिका नगरपालिकाबाट आएका धामी देवराज जोशीले तालिमले महिनावारीका बारेमा सिकेका कानुनी कुरा सिकाएको बताए ।

‘कुनै समय थियो । महिनावारी हुँदा घरभन्दा टाढा अर्थात् अलग्गै बस्नुपर्ने बाध्यता, तर अब त्यस्तो छैन । समय फेरिएको छ । कानुन फेरिएका छन्’ जोशीले भने, ‘त्यसले गर्दा कानुनको दायराभन्दा बाहिर जाने छुट कसैलाई पनि छैन । हामी पनि त्यहीँभित्र रहर बस्नेछौँ ।’

तीन दिनसम्म भएको तालिमको महिला अधिकारकर्मी राधा पौडेलले सहजीकरण गरेकी हुन् । तालिममा सुदूरपश्चिमको बाजुरा, डोटी, कैलाली, अछाम र कर्णाली प्रदेशको मुगु जिल्लाका धामी झाँक्री तथा जनप्रतिनिधिको सहभागिता रहेको थियो ।


८ साउन २०७९, आइतवार ०८:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु