कैलालीमा सिल प्याक पानीको बोतलमा माकुरो भेटिएपछि…
कैलालीको टीकापुरमा एक पसलमा बिक्रीका लागि राखिएको सिल प्याक पानी बोतलमा माकुरो भेटिएको छ । आकाशगङ्गा वाटर एण्ड वेभरेज इन्ड्रस्टिज बर्दगोरिया कैलालीले उत्पादन गर्दै आएको पानीको बोतलमा माकुरो भेटिएको हो ।
टीकापुरमा रहेको बिभोर मेडिकलमा ग्राहकले पानीको बोतल मागेपछि बोतलमा माकुरो देखिएको मेडिकलका सञ्चालक सञ्जय भण्डारीले जानकारी दिए । ‘एक जनाले पानीको बोतल माग्नुभयो, हामीले दियौँ, बोतलको पिँधमा माकुरो देखियो,’ भण्डारीले भने, ‘पानीको सिल प्याक बोतलमा माकुरो भेटिएपछि उत्पादक कम्पनीलाई खबर गर्दा त्यसलाई बेवास्ता गर्नुभयो र त्यसलाई स्वीकार गर्नुभएन ।’
उपभोक्ता हित संरक्षण मञ्च टीकापुरका अध्यक्ष एकेन्द्र तिमिल्सिनाले सिल प्याक पानीभित्र माकुरो देखिनु उपभोक्तामाथिको गम्भीर लापर्बाही भएको बताएका छन् । उनले खानेपानी संस्थाको पानी नखाएर शुद्ध पानीका लागि प्रशोधित पानी पिउने गरेको भए पनि आँखाले देखिने खालको प्रमाणले खानेपानी कम्पनीमाथि प्रश्न उब्जाएको बताए ।
‘आँखाले देखिने खालका यस्ता फोहोर मिसावट देखिँदा आँखाले नदेख्ने कति फोहोर पानीमा होला भन्ने सजिलै अनुमान लगाउन सकिन्छ,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘यो उपभोक्तामाथिको गम्भीर लापर्बाही हो । यस्ता गलत कार्य गरेर उपभोक्ताको स्वस्थ्यमा खेलबाड गर्नेलाई कारबाहीको दायरामा ल्याउन जरुरी छ । होइन भने यस्ता लापर्बाहीका घटना दोहोरिनेमा कुनै शङ्का छैन ।’
आकाश गङ्गा वाटर एण्ड वेभरेज इन्ड्रस्टिजका सञ्चालक ओमनारायण महतोले आफूले उत्पादन गरेको पानीमा त्यस्तो हुन नसक्ने बताए । उनले कसैले आफूमाथि रचेको प्रोपोगान्डा मात्रै भएको भन्दै आफ्नो व्यवसायलाई कमजोर बनाउन खेलिएको खेल भएको तर्क गरे ।
२८ असार २०७९, मंगलवार २१:५८ बजे प्रकाशित












