प्रतिनिधि सभाको बैठक आज बस्दै
संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । संसद् भवन नयाँ वानेश्वरमा दिउँसो एक बजे बस्ने बैठकका लागि ८ वटा कार्यसूची तय गरिएको छ।
बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त भएको पत्र पढेर सुनाउने कार्यक्रम छ । त्यसपछि सभाका सचिव गोपालनाथ योगीले विनियोजन विधेयक, आर्थिक ऐन, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक प्रस्तुत गर्नेछन् ।
त्यसैगरी औषधी विधेयक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा विधेयक र रेलवे विधेयक टेबल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले २०७७/७८ को नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ ।
कानुन न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभद्र पोख्रेलले फौजदारी कसुर तथा कार्यविधि सम्बन्धी संशोधन गर्ने ऐन र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन विधेयक प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
२० असार २०७९, सोमवार ०९:२४ बजे प्रकाशित













