धनगढीमा मुख्यमन्त्री कप ब्याटमिन्टन प्रतियोगिता सुरु
मुख्यमन्त्री कप सुदूरपश्चिम प्रदेश ब्याटमिन्टन प्रतियोगिता धनगढीमा बिहीबारदेखि सुरु भएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा तीन दिने मुख्यमन्त्री कप सुदूरपश्चिम प्रदेश व्याटमिन्टन प्रतियोगिता धनगढीमा सुरु भएको हो ।
सुदूरपश्चिम प्रदेश व्याटमिन्टन संघको व्यवस्थापनमा भएको प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री दीर्घबहादुर सोडारीले उद्घाटन गरेका हुन् ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दीपकवहादुर सिंहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम सुदूरपश्चिम प्रदेश ब्याटमिन्टन संघका सचिव सुनिल श्रेष्ठले सञ्चालन गरेका थिए ।
प्रतियोगितामा ९ वटै जिल्लाका चार महिला र चार जना पुरुष खेलाडी र एक/एक जना व्यवस्थापक गरेर ९१ जनाको सहभागीता रहेको राष्ट्रिय ब्याटमिन्टन प्रशिक्षक तथा खेलकुदका निर्देशक मेघराज कठायतले जानकारी दिए ।
उनले ९ वटै जिल्लाबाट कोटा सिस्टम गरी खेलाडीहरु छानिएको बताए । ‘राष्ट्रिय लेवलमा ब्याटमिन्टन खेल्नका लागि अहिले जुनियर लेवलबाट प्रदेश स्तरीयय खेल गरेका छौँ ,’ उनले भने प्रतियोगितामा सबै जिल्ला समेटिएको छ ।’
प्रतियोगितामा १९ वर्षमुनि र १५ बर्षमुनिका महिला तथा पुरुष गरी चार विधामा प्रतिस्पर्धा भईरहेको छ ।

प्रतियोगिताको पहिलो दिन दुबै उमेर समुहका चार वटै विधाका प्रिक्वाटरफाईनलदेखि क्वाटरफाईनलसम्मका प्रतिस्पर्धा भएका छन् । प्रतियोगिताको दोस्रो दिन दुबै उमेर समुहका क्वाटरफाईनल तथा सेमिफाईनलका खेलहरु आयोजना हुने आयोजकले जनाएको छ ।
१६ असार २०७९, बिहीवार २१:२७ बजे प्रकाशित













