डडेल्धुरा आलितालका कर्मचारी लुट्ने ३ जना पक्राउ
डडेल्धुरा आलितालका कर्मचारी लुट्ने ३ जना पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका ४ स्थित बुढीतोलाबाट लुटिएका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई कुटपिट गरेर फरार भएका ३ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार पक्राउ पर्नेमा भारत हरियाणा सोनी पथका २१ बर्षीय भगत सिँह, सोही ठाउँका १८ बर्षीय साहिल बादलिसे र सोही ठाउँका २० बर्षीय सन्नी जाँटलाई गोदावरी नगरपालीका १ स्थित ऐश्वर्य सामुदायिक वन मनेहारा गाउँबाट पक्राउ गरिएको हो ।
उनीहरुलाई गोदावरी नगरपालिका-१ स्थित भित्री सडकको जंगलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको उनले बताए।
यस्तै डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कर्मचारी लोकेन्द्रसिंह भण्डारीको लुटिएको ३–०१–०२३ च ८७२१ नम्बरको कार फेला परेको छ। जिल्ला प्रहरी कार्यालय डिएसपी जोशीले गोदावरी नगरपालिका-१ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने सडकखण्डमा कार फेला परेको बताए। लिफ्ट मागेर कारमा बसेका ३ जनाले आज कुटपिट गरेर भण्डारीको कारसहित भएका नगद र मोबाइल लुटेर फरार भएका थिए । कुटपिटबाट घाइते भण्डारीको पद्मा अस्पतालमा उपचार भइरहेको छ ।
१३ असार २०७९, सोमवार २०:५३ बजे प्रकाशित































