कञ्चनपुरमा लामो समयदेखि सञ्चालनमा रहेका ३ क्रसर बन्द
कञ्चनपुरमा लामो समयदेखि सञ्चालनमा रहेका ३ क्रसर बन्द गरिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयका प्रमुख रामबहादुर कुरुवाङ्गले अख्तियारमा सोसम्बन्धी उजुरी परेपछि थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई पत्राचार गरेको बताए ।
“हामी कहाँ उजुरी परेपछि प्रमुख जिल्ला अधिकारी समक्ष्य उक्त विषय अगाडि बढाउन भनेका थियौँ ।” अख्तियार प्रमुख कुरुवाङ्गले भन्नुभयो, “जिल्ला अनुगमन समितिको निर्णयपछि तीन क्रसर बन्द गरिएका हुन् ।” अख्तियारका अनुसार आज बेदकोट नगरपालिकामा निर्माण सामग्री केन्द्र, दोधारा चादँनीमा रहेको बासुलिङ्ग कन्सट्रक्सन र कृष्णपुरमा रहेको गौरव बिल्र्डसले सञ्चालन गरेको गैरकानुनी रुपमा सञ्चालित क्रसर बन्द गरिएका हुन् ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जिल्ला समन्वय समितिका संयोजकको अध्यक्षतामा रहेको जिल्ला अनुगमन समितिले स्थलगत अनुगमनपछि तीन वटा क्रसर बन्द गर्ने निर्णय गरेको जानकारी दिए ।
अनुगमन समितिले क्रसर राखिएका पालिका र आन्तरिक राजस्व कार्यालयलाई थप कारबाहीका लागि प्रक्रियाअघि बढाउन भनिएको उनको भनाइ थियो ।
२० वैशाख २०७९, मंगलवार ११:४५ बजे प्रकाशित































