कैलालीमा तीन दलीय गठबन्धनका आधिकारिक उम्मेदवार
कैलालीमा तीन दलीय गठबन्धनले आधिकारिक उम्मेदवारको नाम मनोयनको तेश्रो दिन सार्वजनिक गरेको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबिच मात्रै कैलालीमा गठबन्धन भएको छ ।
बुधवार एक विज्ञप्तिमार्फत गठबन्धनले आधिकारिक उम्मेदवार सार्वजनिक गरेको हो । जस अनुसार गठबन्धनले धनगढी उपमहानगरपालिकामा मेयर पद काँग्रेसलाई र उपमेयर माओवादीलाई वण्डा गरेको छ ।
तीन दलीय गठबन्धनबाट धनगढीको मेयरमा कांग्रेसका नृपबहादुर वड पुनः दोहोरिएका छन् । अघिल्लो चुनावमा माओवादीबाट उपमेयरमा लडेर पराजय ब्यहोरेकी शान्ति अधिकारीले यसपल्ट गठबन्धनबाट पुनः उपमेयरमा उम्मेदवारी दर्ता गराएकी छिन् ।
कैलालीको गोदावरी नगरपालिकामा गठबन्धनबाट मेयरमा काँग्रेसका वीरेन्द्र भट्ट र उपमेयरमा एकीकृत समाजवादीकी रत्ना कडायतले उम्मेदवारी दर्ता गराएका छन् । भट्ट यसअघिको निर्वाचनमा एमालेका उम्मेदवार हरिसिंह साउँदसँग पराजित भएका थिए भने कडायतले एमालेबाट उपमेयरमा जित हासिल गरेकी थिइन् ।
गठबन्धनले घोडाघोडी नगरपालिकामा एकीकृत समाजवादीका तर्फबाट खडक रावतलाई नगर प्रमुखको उम्मेदवार बनाइएको छ भने नेपाली काँग्रेसबाट गुलिया देवी चौधरीलाई उपमेयरको उम्मेदवार बनाइएको छ ।
नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टका अनुसार लम्की चुहा नगरपालिकामा काँग्रेसबाट सुशीला शाहीलाई गठबन्धनले उम्मेदवार बनाएको छ भने माओवादीकी जानकी सिंहले उपमेयरमा उम्मेदवारी दर्ता गराएकी छन् ।
गौरीगंगा नगरपालिकामा माओवादी केन्द्रले मेयर र काँग्रेसले उपमेयर पद पाएको छ । गठबन्धनले यहाँ माओवादी केन्द्रका तर्फबाट देवदत्त कँडेललाई मेयर र भोजबहादुर बमलाई उपमेयरको उम्मेदवार बनाएको छ ।
टिकापुर नगरपालिकामा कांगे्रसबाट नवराज रावललाई मेयर र खडक शाहीलाई उपमेयरको उम्मेदवार बनाइएको छ । भजनी नगरपालिकामा माओवादीका तर्फबाट शेरबहादुर चौधरीलाई मेयर र कांग्रेसका तर्फबाट गोकेन्द्र भण्डारीलाई उपमेयरको उम्मेदवार बनाइएको हो ।
चुरे गाउँपालिकाको मेयरमा समाजवादीबाट लोकबहादुर सारुमगर अध्यक्ष र धना थापा काँग्रेसबाट उपाध्यक्षको उम्मेदवार बनाइएको छ । जानकी गाउँपालिकामा नेपाली काँग्रेसका तर्फबाट परशुराम महतो कठरियालाई अध्यक्ष र जयप्रकाश दहितलाई माओवादीका तर्फबाट उपाध्यक्षको आधिकारिक उम्मेदवार बनाइएका हो ।
जोशीपुरमा काँग्रेसका तर्फबाट बशराम कठरियालाई अध्यक्षको उम्मेदवार बनाउँदा माओवादी केन्द्रबाट उपाध्यक्षमा दीर्घ विनाडीलाई आधिकारिक उम्मेदवार बनाइएको छ ।
यस्तै कैलारी गाउँपालिकाको अध्यक्ष पदको लागि माओवादीबाट लाजुराम चौधरी र उपाध्यक्षका लागि कांगे्रबाट भगवतीकुमारी चौधरीलाई आधिकारिक उम्मेदवार बनाइएको हो ।
मोहन्याल गाउँपालिकाको अध्यक्ष पदका लागि माओवादी केन्द्रबाट देवीदत्त उपाध्याय र काँग्रेसबाट कमल बहादुर साउदलाई अध्यक्ष तथा उपाध्यक्षको आधिकारिक उम्मेदवार बनाइएको हो । वर्दगोरिया गाउँपालिकाको अध्यक्ष पदका लागि काँग्रेसबाट शेर बहादुर कठरिया र उपाध्यक्षका लागि गणेश गिरीलाई माओवादीका तर्फबाट आधिकारिक उम्मेदवार बनाएको हो । तीन दलीय गठबन्धनले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।
यस्तै गठबन्धनले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन पनि आग्रह गरेको छ ।

१४ वैशाख २०७९, बुधवार १४:५६ बजे प्रकाशित































