नेकपा (माओवादी केन्द्र)का नगर प्रमुख पदका उम्मेदवार विरुद्ध उजुरी
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नवराज ऐर विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ।
माओवादी केन्द्रबाट आगामी वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि नगर प्रमुख पदमा मनोनयन दर्ता गरेका उम्मेदवार ऐर विरुद्ध सोही पार्टीका लोक बहादुर ऐरीले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन्।
निर्वाचन अधिकृत ताराप्रसाद जोशीले नगर प्रमुख पदका उम्मेदवार ऐर विरुद्ध परेको उजुरी निर्वाचन आयोगमा पठाइएको बताए। ‘आयोगबाटै निर्णय हुन्छ’ उनले भने, ‘ऐर नगर प्रमुख पदको आधिकारिक उम्मेदवार नरहेको भन्दै कार्यालयमा उजुरी परेको छ।’
मनोनयन दर्ता गराएको व्यक्ति आयोगले तोकेको मापदण्डअनुसार उम्मेदवार बन्न अयोग्य रहेको भएमा कारणसहित उजुरी दिन सकिने गरी निर्वाचन आयोगले मंगलवार उम्मेदवार विरुद्ध उजुरी दिन आह्वान गरेको थियो।
लोकबहादुर ऐरीलाई माओवादी केन्द्रका सुदूरपश्चिम अध्यक्ष हरिराम चौधरी तथा इन्चार्ज भट्ट दुबैले सिफारिस गरेका थिए। उम्मेदवारी दर्ता गर्दा भट्ट आफै आएर नवराजको पक्षमा खुलेर आधिकारिक उम्मेदवार भएको निर्वाचन कार्यालयलाई जानकारी गराएका थिए। सोमबार नवराजको उम्मेदवारी दर्ता गराउन भट्ट स्वयं शुक्लाफाँटा स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए।
१४ वैशाख २०७९, बुधवार १६:११ बजे प्रकाशित































