आईपीएल: पञ्जाबसँग चेन्नई पराजित
चेन्नई सुपर किङ्सलाई ११ रनले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा पञ्जाब किङ्सले चौथो जित निकालेको छ । मुम्बईमा सोमबार राति पञ्जाबले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ६ विकेट गुमाएर मात्र १ सय ७६ रन बनाउन सक्यो ।
चेन्नईका अम्बाती रायडुले सर्वाधिक ७८ रन बनाए । रुतुराज गायकवाडले ३० रनको योगदान गरे । पञ्जाबका कागिसो रबाडा र ऋषि धवनले २-२ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८७ रनको योगफल तयार पारेकाे थियाे । पञ्जाबका शिखर धवनले अविजित ८८ रन बनाए । यस्तै भानुका राजपाक्षेले ४२ रनको योगदान गरे । चेन्नईका ड्वाने ब्राभोले २ विकेट लिए ।
प्रतियोगितामा पञ्जाब ८ खेलबाट ८ अंक जोड्दै छैटौँ स्थानमा छ । छैटौँ हार बेहोरेको चेन्नई ८ खेलबाट ४ अंक जोडेर नवौँ स्थानमा छ ।
१३ वैशाख २०७९, मंगलवार ०७:३२ बजे प्रकाशित































