कञ्चनपुरमा नहरमा डुबेर १२ बर्षिय बालकको मृत्यु
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ स्थित निर्माणाधीन महाकाली तेस्रो चरणको नहरमा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।
आज विद्यालयबाट फर्कने क्रममा नहरमा नुहाउँदै गर्दा शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटाका १२ बर्षिय रोहित धामीको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए ।
उनका अनुसार नहरमा नुहाउनका लागि गएका बालक मृत अवस्थामा नहरको पानीमा उत्रिएको अवस्थामा फेला परेका छन् । बालकको शव नहरको पानीमा उत्रिएको अवस्था देखिएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।
बालकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको छ। मृतक बालक धर्मजनता माध्यमिक विद्यालयको कक्षा ६ मा पढ्दै आएका थिए।
१८ चैत २०७८, शुक्रवार २१:४८ बजे प्रकाशित































