पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना
प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आजको मौसम आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।
प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको पनि सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।
महाशाखाले बिहान ६ बजे जारी गरेको सूचनाअनुसार अहिले बिहान देशका पहाडी भू–भागमा सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।
आज राति प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाको छ । राति प्रदेश १ का पहाडी भू–भागका थोरै स्थानहरू र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल देशमा भारतको बिहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।
१७ चैत २०७८, बिहीवार ०८:०९ बजे प्रकाशित































