प्रधानमन्त्रीलाई सुदूरबासीका एक लाख चिठ्ठी र २२ डोका
सुदूरपश्चिमबासीका एक लाख चिठ्ठी र २२ डोकासहित बोलन्या थली सोमबार काठमाडौँ पुगेको छ । पश्चिम सेती जलविद्युत निर्माणको लागि दबाब दिँदै आएको थली सोमबार काठमाडौँ पुगेको हो ।
बोलन्या थलीका संयोजक यादव जोशीले केही समय अघिदेखि संकलन गरिएका एक लाख पत्र प्रधानमन्त्री शेर बहादुर देउवालाई बुझाउने बताएका छन् ।
‘विगत केही महिना अघिदेखि हामीले पश्चिम सेती निर्माणका लागि दबाब दिन प्रधानमन्त्री ज्यूलाई सुदूरपश्चिमबाट एक लाख चिठ्ठी बुझाउने कार्यक्रमको शुभारम्भ गरेका थियौं,’ जोशीले भने, ‘प्रदेशका ८८ वटै स्थानीय तहबाट जनताका सपनाका पत्र संकलन गरेर हामी काठमाडौँ पुगेका छौं ।,’ यस्तै तीन दिन माइतीघर मण्डलामा सुदूरपश्चिबासीका सपनामाथिका घात राजधानी सुन्ने गरी कराएर प्रधानमन्त्रीलाई डोकामा एक लाख पत्र बुझाउने कार्यक्रम छ ।
पश्चिम सेती आयोजना निर्माणका लागि दबाब दिन ७५० डोकासहित डोटीमा प्रदर्शन र ७५० मैनबत्ती बालेर दिउँसै सरकार खोजी गरिसकेको छ । यस्तै काठमाडौँकै माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग थलीले यसअघि छलफल कार्यक्रम गरिसकेको छ ।
१५ चैत २०७८, मंगलवार ०७:२६ बजे प्रकाशित































