धनगढीमा मृत फेला परेका पुरुषको पहिचान खुल्यो
कैलालीको धनगढीमा सोमबार बिहान मृत फेला परेका पुरुषको पहिचान खुलेको छ । धनगढी उपमहानगरपालिका–५ को जाँई–शिवनगर सडकस्थित केराबारीमा मृत फेला परेका पुरुषको पहिचान खुलेको हो ।
भारतको उत्तर प्रदेशस्थित शाहजापुरा बस्ने ४२ वर्षीय कुल्दीप गुप्ताको भनि उनका भाई प्रदीप गुप्ताले सनाखत गरेको जिल्ला प्रहरी कार्यलय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले बताए । लकडाउन हुनुअघि उनी नेपालमै रहेको र आजभोलि उनी राजस्थानमा बस्दै आएका थिए ।
आइतबार मात्रै उनी धनगढीस्थित भाइको कोठामा पुगेको र त्यहाँबाट ५० रुपैयाँ लगेर गएको भन्ने अनुसन्धानबाट खुलेको छ । उनले मदिरा सेवन गरेको पनि मृतकका भाइले बताएको प्रहरीको भनाई छ । मृतक कुल्दीपको घाँटी र गालामा ठुलो चोटपटक लागेका र हत्या गरीएको ठाउँमा काठका टुक्रा भेटिएकाले हत्या नै गरिएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा काठको डन्डी पनि भेटिएको काठले हिर्काएर हत्या गरिएको हुन सक्ने डिएपी जोशीले बताए । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
२३ फागुन २०७८, सोमवार १७:५६ बजे प्रकाशित































