अछाम कांग्रेसको सभापतिमा स्वारलाई कुँवरको समर्थन
नेपाली कांग्रेस अछामको सभापतिमा राजन कुँवरको समूहले भरतकुमार स्वारलाई समर्थन गर्ने निर्णय गरेको छ। जिल्ला अधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा कुँवरको समूहले स्वारलाई समर्थन गर्ने निर्णय गरेको हो।
दोस्रो चरणको मतदानमा कुँवर समूहले स्वारलाई समर्थन गर्ने निर्णय गरेको महाधिवेशन प्रतिनिधि कृष्ण कुँवरले जानकारी दिए। हिजो भएको निर्वाचनमा ३ जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको निर्वाचन हुन लागेको हो।
पहिलो चरणको मतदानमा सभापतिका उम्मेदवार पुष्पबहादुर शाहले ६ सय ९५, स्वारले ५ सय ७३ र कुँवरले १ सय ५६ मत प्राप्त गरेका थिए। स्वार वर्तमान सभापति हुन् भने शाह पूर्वसभापति हुन्। क्षेत्र १ को क्षेत्रीय अधिवेशनमा ढिलाई भएपछि जिल्ला अधिवेशन निर्धारित समयमा हुन सकेको थिएन। सभापतिका लागि सोमबार बिहान ८ बजे देखि पुनः मतदान हुने निर्वाचन समितिले जनाएको छ।
२२ फागुन २०७८, आइतवार २१:०० बजे प्रकाशित































