बझाङमा हत्या गरी फरार दुईजना १६ वर्षपछि पक्राउ
बझाङमा हत्या अभियोगमा अदालतबाट कैद सजाय पाएका दुईजना घटना भएको १६ वर्षपछि पक्राउ परेका छन्। जयपृथ्वी नगरपालिका ७ ज्याडाका मीनबहादुर भण्डारीको हत्या गरी फरार भएका ४० वर्षीय वीरेन्द्र राना र ३३ वर्षीया रामदेवी रानालाई जिल्ला प्रहरी कार्यालय बझाङले पक्राउ गरेको हो।
नेपाल भारतको सीमानाका गड्डाचौकी हुँदै नेपाल आउँदै गरेको सूचनाका आधारमा उनीहरूलाई कञ्चनपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय बझाङको समन्वय तथा केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो र स्थानीय प्रहरीको सहयोगमा उनीहरुलाई शनिवार पक्राउ गरिएको विष्टले बताए।
पुनरावेदन अदालत डोटीले २०६६ असार ८ गते रामदेवी रानालाई तीन वर्ष र सर्वोच्च अदालतको २०६९ वैशाख २२ गते वीरेन्द्र रानालाई २० वर्ष कैद सजाय सुनाएको थियो। फैसलापछि उनीहरु दुवैजना फरार रहेका थिए।
वीरेन्द्र राना, प्रकाश राना, मंगल राना, रामदेवी राना र हिरादेवी रानाले घरेलु हतियार बञ्चरो र हँसिया प्रयोग गरी भण्डारीको हत्या गरेका थिए। हत्यामा संलग्न प्रकाश यसअघि नै धनगढीबाट पक्राउ परिसकेका छन्।
शनिवार पक्राउ परेका दुवैजनालाई कारागार पठाइएको छ।
१६ फागुन २०७८, सोमवार १४:४५ बजे प्रकाशित































