भीमदत्त नगरपालिकालाई ‘बाह्रसिङ्गा नगर’ का रुपमा चिनाउने अभियान सुरु
कञ्चनपुरको भीमदत्त नगरपालिकालाई अब ‘बाह्रसिङ्गा नगर’ का रुपमा चिनाउने अभियान थालिएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गाको घरका रुपमा परिचित छ । सयौँको सङ्ख्यामा रहेका बथानका बथान बाह्रसिङ्गाले धेरैको मन तानेको छ । त्यसैले अन्तर्राष्ट्रिय पहिचानसमेत भएको बाह्रसिङ्गालाई अब भीमदत्तको ब्रान्ड बनाउने घोषणा नगरपालिकाले गरेको हो ।
यहाँ आउने हरेक यात्रुलाई चुरे पहाड, झोलुङ्गे पुल, शुक्लाफाँटालगायतका पर्यटकीय स्थलले आकर्षित गर्छन् । त्यसमा पनि बाह्रसिङ्गा खास हो । त्यसैले शुक्लाफाँटा पर्यटन महोत्सवको अवसरमा भीमदत्तलाई ‘बाह्रसिङ्गाको नगर’ घोषणा गरिएको हो ।
नगरपालिकालाई चिनाउन भीमदत्तले बाह्रसिङ्गासहितको लोगो बनाएको छ । उक्त लोगोलाई नगर प्रमुख विष्टले सार्वजनिक गरे ।‘बाह्रसिङ्गा भीमदत्त नगरको ब्रान्ड बनेको छ,’ उनले भने, ‘बाह्रसिङ्गासहितको लोगो तथा पोस्टर सबै कार्यालय, चोकहरू, पसलहरूमा राख्न लगाउँछौं, बाह्रसिङ्गाको व्यापक प्रचारप्रसार गराउँछौँ ।’
नगरपालिकाका सबै प्रकाशनहरूमा बाह्रसिङ्गाको लोगो राखिने नगर प्रमुख विष्टले जानकारी दिए । शुक्लाफाँटामा २ हजार २ सय ४८ को सङ्ख्यामा बाह्रसिङ्गा रहेको अनुमान छ । हजार बढी बाह्रसिङ्गा एउटै बथानमा हेर्न मिल्छ । बाह्रसिङ्गाले शुक्लाफाँटा घुम्ने पर्यटकलाई रोमाञ्चित बनाउँछ ।
नगरपालिकाले बाह्रसिङ्गा नगर घोषणा गरेसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसारमा सहयोग पुगेको प्रमुख संरक्षण अधिकृत किशोर मेहताले बताए ।
१४ फागुन २०७८, शनिवार १४:०४ बजे प्रकाशित































