मगमग चाउचाउ उद्योगमा आगलागी
झापाको मेचीनगर नगरपालिका १४ दुहागढीस्थित मनषा थाइफुड्स उद्योगमा आज बिहान लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । नेपाल रेडक्रस सोसाइटीका जिल्ला अध्यक्ष लोकराज ढकालका अनुसार उद्योगमा बिहान चार बजे आगलागी भएको हो ।
आगो निभाउन झापा, मोरङ, इलाम र सुनसरीका १२वटा दमकल प्रयोग गरिएको छ । आगो अझै नियन्त्रणमा आइनसकेको ढकालले बताए ।
ठूलो संख्यामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासी आगो निभाउन प्रयासरत छन् ।
विसं २०७५ मा एक अर्ब रुपैयाँको लगानीमा स्थापना भएको उक्त उद्योगले मगमग, अकबरेलगायत चाउचाउ उत्पादन गर्दै आएको थियो ।
२९ माघ २०७८, शनिवार १०:२५ बजे प्रकाशित































