“लक डाउन”ले संसारको अर्थ व्यवस्थालाई पार्दै आएको प्रभाव
डिल्लीराज बिष्ट ।
“लक डाउन”ले संसारको अर्थ व्यवस्थालाई पार्दै आएको प्रभाव विभिन्न देशहरूमा अब बिस्तारै देखिन थालेको छ। लक डाउनले मानवीय क्षतिमा कमी नआएको र समानान्तर रुपमा आर्थिक नोक्सानी समेत व्यहोर्नु परेको कुरा आजभोलि महसुस हुन थालेको छ। त्यसैले महामारीबाट बढी प्रभावित देशहरुले समेत लकडाउनलाई बिस्तारै हटाउँदै आएका छन्। उद्योग धन्दा कलकारखाना, विकास निर्माण कार्यहरु लगायतका आर्थिक गतिविधिहरु सञ्चालन गर्दै आएका छन्। कृषि तथा अन्य उत्पादन मुलक कार्यहरू सञ्चालन गर्दै आएका छन्। यद्यपि WHO ले लक डाउन खुला नगर्न ती देशहरूलाई सुझाव दिँदै आएको छ। तर WHO ले समयमै सही सुझाव नदिएको भन्दै ती देशहरुले WHO को आलोचना गर्दै आएका छन्। लक डाउन लामो अवधि गर्दा पनि संक्रमणमा संकुचन नआएको, जन धन को क्षति बढदै गएको तथा आर्थिक अवस्था खस्किदै गएकोले लक डाउन खुला गर्ने निर्णय गरेका छन्। सरकारी कार्यालयहरू तथा सरकारी सेवाहरु सञ्चालनमा ल्याउदै आएका छन्।
छिमेकी मित्र राष्ट्र भारतमा लामो अवधि सम्म लक डाउन कायम गर्दा पनि संक्रमण र मृत्यु दर अत्यधिक वृद्धि हुँदै गएकोले उद्योग धन्दा कल कारखाना लगायतका आर्थिक गतिविधिहरू र कृषिजन्य कार्यहरू सञ्चालनमा ल्याएको देखिन्छ। भारतमा लक डाउन वृद्धि गरे पनि केन्द्रिय स्तरका सरकारी कार्यालय र सेवाहरू सञ्चालनमा ल्याउने निर्णय गरेको छ। नेपालमा पनि वैशाख २४ गतेको मन्त्री परिषदको बैठकको निर्णयले केही सीमित आर्थिक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ । तर सरकारी कार्यालयहरू र सेवाहरु सञ्चालनमा ल्याउने निर्णय भने गरेको छैन। कोरोना संक्रमण, विस्तार, संकुचन र निष्क्रियता समय सीमाको संकेत अझै देखिएको छैन। कहिले सम्म देशलाई बन्द अवस्थामा राख्ने त ? यसको जवाफ छैन। लक डाउन गरेर कोरोना उन्मूलनमा सफलता पाउने देशहरू चीन, दक्षिण कोरिया र अष्ट्रेलिया आदि देखिएका छन् भने बाँकी संसारमा लक डाउन हुँदा हुँदै पनि संक्रमण वृद्धि हुँदै गइरहेको देखिन्छ।
कोरोना संक्रमणको महामारीको तयारी र लक डाउनको कारणले नेपालको अर्थ व्यवस्थालाई अझै कमजोर बनाउँदै गएको देखिन्छ। यसले बेरोजगारी दिनानु दिन बढदै गएको अवस्था छ। रोजगारको सिलसिलामा विदेशमा रहेका लाखौं नेपालीहरु बेरोजगार भएर नेपाल फर्किनु पर्ने अवस्था सिर्जना हुँदैछ। यसले बेरोजगारको स्थिति अझै विकराल हुँदै जाने र रेमिट्यान्समा निकै ह्रास आउने निश्चित जस्तै देखिन्छ । अन्तर्राष्ट्रिय उडानहरू बन्द रहेको अवस्थामा विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने अवस्था सिर्जना भए उडानको समेत समस्या देखिनेछ। क्वारेन्टाइन लगायत भौतिक पूर्वाधार हरूको व्यवस्थापनमा पनि समस्या देखिनेछ। नेपालमा कोरोना महामारीको प्रभाव र लक डाउनको कारणले प्रमुख निम्न क्षेत्रमा समस्या आउन सक्ने देखिन्छ।
(१)- संक्रमित व्यक्तिहरू सीमा नाका बन्द भएको अवस्थामा गलत बाटोबात प्रवेश हुन सक्ने सम्भावना। (२)- विदेशबाट फिर्ता हुने नेपाली नागरिकहरुको व्यवस्थापन र बेरोजगारीको समस्या
(३)- छिमेकी भारतमा अत्यधिक वृद्धि भइरहेको महामारी संक्रमणको कारण नेपालमा उपभोग्य वस्तुहरूको आयात निर्यातमा पर्ने प्रभाव। (४)- नेपालमा क्वारेन्टाइन र आइसोलेसन लगायतका भौतिक पूर्वाधारहरुको व्यवस्थापन र मापदण्ड। (५) – वैदेशिक रोजगारीबाट फर्किने लाखौं युवाहरुमा संक्रमण परीक्षणमा समस्या। (६)- रेमिट्यान्समा अत्यधिक गिरावट।
(७)- लक डाउनको कारणले सरकारी कार्यालयहरू सञ्चालन हुन नसक्दा जनतामा नैराश्यता। (८)- अत्यधिक मूल्य वृद्धि र कृतिम अभाव।
(९) महामारी सङ्गै भोकमरीको सम्भावना र पर निर्भरतामा वृद्धि। (१0)- संक्रमणको दर उच्च भएमा दक्ष जनशक्ति, उपकरण हरू तथा भौतिक पूर्वाधारहरुको समस्या हुन सक्ने।
(११)- विकास बजेट समेत महामारी नियन्त्रणमा प्रयोग हुन सक्ने अवस्था।
(१२)- संक्रमण समाप्ति पछिको पुनरुत्थान, विकास निर्माण र पुनर्स्थापनाको चरण।
त्यसैले कोरोना महामारी संक्रमणको विश्व स्तरीय अहिलेको परिस्थिति हेर्दा निकट भविष्यमा पनि नियन्त्रण र निष्क्रियताको समय सीमा सम्बन्धी कुनै संकेत नदेखिएकोले लक डाउन कहिले सम्म जारी राख्ने त ? यसको जवाफ खोज्नु जरुरी छ। लक डाउन” भनेको कोरोना भाइरसको महामारी नियन्त्रणको पीडादायी विकल्प मात्र हो। नागरिक स्तरमा सचेतना र भौतिक दूरी प्रमुख पक्ष हो। महामारी विरुद्धको यो अनिश्चित कालिन युद्वमा, मैदान खाली गरेर होइन, पूर्ण तयारीका साथ लुकामारी गर्दै आर्थिक गतिविधि र सरकारी कार्यालयहरू र सेवाहरु सञ्चालनमा ल्याउनु उपयुक्त हुन्छ। सीमा नाकाहरुमा आवत जावत पूर्ण रुपमा कडाई गर्ने र अन्तर्राष्ट्रिय उडानहरू अझै केही अवधि रोक लगाउनु उपयुक्त हुन्छ। क्वारेन्टाइनहरुको गुणस्तर र सुरक्षा व्यवस्था बलियो बनाएर परीक्षण द्रुत गतिमा अगाडि बढाउनु पर्छ। कृषि कार्य र उद्योग कल कारखानाहरु, सरकारी कार्यालयहरू, आन्तरिक उडानहरू तथा छोटो दूरीका सवारी साधनहरु स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गरी सञ्चालन गर्दै देशको आन्तरिक जनजीवन चलायमान गर्नु उपयुक्त देखिन्छ। यसले एकातिर संक्रमणको डर र अर्को तिर लक डाउनको अनिश्चित कालीन उकुस मुकुस अवस्थामा रहेको जनजीवनमा केही राहत र सहज अवस्थाको अनुभूति हुन सक्ने देखिन्छ।
२५ वैशाख २०७७, बिहीवार ०७:४६ बजे प्रकाशित













