कोरोेना संकट तथा कृषि अर्थतन्त्र
एउटा कुरा त स्थापित भईसक्यो की कोराना संकटले संसारभरिकै अर्थव्यवस्थालाई नराम्ररी प्रभावित गरीसकेको छ । जारी संकटको कारणले समग्र विश्व कै अर्थतन्त्रमा दोस्रो विश्व युद्ध पछि कै सबैभन्दा कठिन अवस्था आएको हुँदा नेपाल पनि त्यसबाट अछुतो रहन सम्भव छैन । विश्वका धेरैजसो मुलुकहरु जस्तै नेपाल पनि गत चैत्र ११ गतेदेखि लकडाउनमा छ ।यस्तो बेलामा आमजनमानसमा स्वास्थ्यका साथसाथै मुलुकको आर्थिक अवस्थाप्रति समेत धैरथोर चासो हुनु स्वाभावि कै हो । यो आर्थिक संकटको पाटो केलाउने तथा त्यसबाट नेपालले सिक्नुपर्ने साथै भविष्यमा अवलम्बन गर्नुपर्ने नीतिहरुमाथि छलफल गर्न समेत अहिले एउटा राम्रो अवसर आएको देखिन्छ ।
आज मुलुकभरि आर्थिक गतिविधि ठप्प प्रायः छ । कुलग्राह्यस्थ उत्पादनमा मुख्य हिस्सा ओगटेका रेमिटान्स, कृषि, घरजग्गा, पर्यटन तथा उत्पादन जस्ता क्षेत्रमा कोरोना भाइरसले ठूलो संकट निम्त्याएको छ । साथै, नेपालको अर्थतन्त्रमा दातृ राष्ट्रहरुले गर्ने सहयोगको समेत ठूलो योगदान रहने गरेकोमा अबका केही समय सो मा समेत कटौती हुने निश्चित देखिन्छ । समग्र विश्वको आर्थिक वृद्धि दर नै अत्यन्तै न्यून रहने प्रक्षेपण गरिएकोेमा त्यसको प्रत्यक्ष असर नेपालमा पनि पर्ने नै हुन्छ । अर्काेतिर राष्ट्रिय बजेट कै हाराहारीमा व्यापार घाटामा रहने नेपाल जस्तो मुलुकलाई यो संकटले अब त मुलुक भित्रै केहीगर्नु पर्छ भन्ने आशा समेत देखाईरहेको मान्न सकिन्छ ।हुनपनि चालु आर्थिक वर्षको प्रथम आठ महिनाको हाम्रो अर्थतन्त्रको प्रगति विवरण निकै नै आशालाग्दो देखिएको थियो । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार मुलुकमा वैदेशिक व्यापारको क्षेत्रमा उक्त आठ महिनामाकुल वस्तु आयातमा २.६ प्रतिशतले कमी देखिएको थियो भने कुल वस्तु निर्यात २२.३ प्रतिशतले बढेको थियो । त्यस्तै वैदेशिक मुद्रा सञ्चितिमा समेत २०७६ असार मसान्तको रु.१०३८ अर्ब ९२ करोड बराबर रहेको कुल सञ्चितिमा ९.४ प्रतिशतले बृद्धि भई २०७६ फागुनमसान्तमा रु.११३६ अर्ब ५१ करोड बराबरपुगेको थियो । यसरी अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखिदैं जाँदा अचानक वैश्विक महामारीको रुपमा कोरोना संकट आईलागेको छ ।
विश्वभरि नै निकै कठिन स्थिति उत्पन्न गरेको यस संकटले नेपाल भित्र सबै भन्दा बढी असर चाहीं अनौपचारिक क्षेत्रमा गरेको छ ।यसका साथै बढी असर पर्ने अन्य क्षेत्रहरुमा यातायात, हवाई उड्डयन, पर्यटन, होटल, रेष्टुरेण्ट, मनोरन्जन लगायतका विभिन्न व्यवसायहरु रहेका छन । यातायात मजदुरहरु, घुमुवा विक्रेताहरु, दैनिक ज्यालादारीका मजदुरहरु, कलाकर्मीहरु, रेष्टुरेन्ट तथा होटलका कामदारहरु मध्ये धेरै जसो बेरोजगार भईसकेको अवस्था छ । मुलुकबाहिर वैदेशिक रोजगारीको सिलसिलामा रहेका जनशक्तिलाई समेत यसले नराम्ररी प्रभावित गरेको छ ।यस्तो बेलामा ती कामदारहरुको आम्दानीको बाटो नै बन्दभई दैनिक जीवनयापन समेत निकै कठीन भएको छ ।
तर यतिहुँदाहुँदै पनिकोरोना संकटले मुलुकलाई एउटा नयाँ सन्देश समेत दिनखोजेको मान्न सकिन्छ । कृषिप्रधान मुलुक भएर पनि हामी कृषिमै समेत परनिर्भर हुँदै गईरहेको अवस्था छ । आफैले उत्पादन गर्न सक्ने दाल, चामल लगायतका खाद्यान्न वस्तुहरु समेत हामीले आयात गरीरहेको अवस्था छ । कृषिमा आधारित वस्तुहरुमै झण्डै साढे एक खर्बको वार्षिक व्यापार घाटा व्यहोर्न हामी बाध्य भएका छौं । कम्तिमा अब मुलुकलाई कृषिमा आधारित कैयौं वस्तुहरुमा आत्मनिर्भर बनाउन सम्भव हुनेछ । कृषिलाई नै हाम्रो आर्थिक विकासको केन्द्र बनाउने उचित समय आएको छ ।जसले तीन करोड नेपालीको भविष्यको जीवनधारा नै परिर्वतन गर्न सकिने अवस्था सिर्जना हुनेछ ।
अब‘केहीगर्नुपर्छ’ भन्ने धारणा राखि राज्यनै कृषि क्रान्तिको पथमा अघि बढ्नु पर्छ । त्यसको निम्ति यहि बेला मुलुकलाई कम्तिमा कृषि उत्पादनमा आत्मनिर्भर बनाउने तर्फ ठोस कदम चाल्नु पर्ने देखिन्छ । राज्यका तर्फबाट कुराहरुमा मात्र होईन, कामहरु पनि गर्न र गराउन तत्परताका साथलाग्नु पर्ने बेलाआएको छ ।यसको निम्ति राज्यले लगानी मैत्री तथा निर्यात प्रवर्धन गर्ने नीतिहरु तयार गरी कृषिका विशेष क्षेत्रहरु छुट्टयाउनु पर्दछ । साथै,कृषि उद्यमीहरुलाई आर्थिक सहयोगका प्याकेजहरु लागु गर्ने जस्ता कार्यहरुबाट अर्थव्यवस्थालाई तत्कालै गति दिन पनि जरुरी देखिन्छ । यो बेलामा तीनवटै तहको सरकारले पार्टीगत राजनीतिबाट माथि उठेर कार्य गर्न आवश्यक रहन्छ ।
अब मुलुक बढीभन्दा बढी घरेलु उत्पादनमा नै आधारित हुनु पर्दछ । मुलुकमा उत्पादन हुनसक्ने सम्मका वस्तुहरु खास गरी कृषि तथा वनजन्य वस्तुहरुमा आत्मनिर्भर हुनसकिन्छ । यस्ता वस्तुहरुको उपयोग गर्न र गराउन राज्यले यही बेला आम जनमानसलाई उत्प्रेरित गर्न सक्दछ र आम नागरिकले पनि उक्त कदममा सहयोग गर्नु पर्दछ । सरकारले मासुजन्य पशुपंक्षीको आयातमा गरेको कडाईको हालसम्म राम्रै संकेतहरु देखिएका छन । भविष्यमा पनि कृषिजन्य वस्तुहरुको आयात निरुत्साहन गर्दै निर्यात गर्नसक्ने अवस्थाको सिर्जना गर्न नीतिनिर्माणमा जोड दिनु पर्ने देखिन्छ ।यसले मुलुकमा कृषि अर्थतन्त्रको विकास गर्दै हामीमा वास्तविक राष्ट्रवादको भावना समेत उजागर हुनेछ ।
सरकारले यो बेलामा वैदेशिक रोजगारीबाट फर्केका तथा मुलुकभित्रै रहेका बेरोजगार तथा उर्जाशिल युवाहरुलाई आधुनिक कृषि तर्फ डो¥याउने कार्यक्रमहरु संचालनगर्न सक्दछ । यही समयमा उता हाम्रा गाउँघरमा अत्यधिक रुपमा बाँझो रहेका जग्गालाई खाद्यान्न,डेयरी, पोल्ट्री, बाख्रापालन, माछापालन जस्ता व्यवसायको निम्तिप्रयोग गर्ने गराउने व्यवस्था मिलाउन जरुरी देखिन्छ । राज्यको तर्फबाट ती व्यवसायहरुमा उपलब्ध श्रोत र साधन यथेष्ट मात्रामा परिचालन गर्नु पर्दछ । साथै, कृषि कार्यमा प्रयोग हुने सामग्री तथापूँजीमा अनुदानको व्यवस्था राजनैतिक दलको कार्यकर्ता भएको आधारमा नगरी वास्तविक कृषकहरु सम्म निर्वाध रुपमा पुग्ने गरी मिलाउनु पर्दछ ।
कृषि क्षेत्रका उत्पादन मध्ये खाद्यान्नको साथसाथै तरकारी, जुटजन्य वस्तुहरु, चिया, अलैंची, अदुवा, सुपारी, जडीबुटी,पामआयल जस्ता उत्पादनहरुलाई हाम्रा अर्थतन्त्रक बलियाआधारहरु बनाउन सकिन्छ ।कृषकहरुले उत्पादन गरेकासबै कृषिजन्य वस्तुहरुको समयोचित मूल्यनिर्धारण गर्दै सो श्रृंखलामा बिचौलियाको उपस्थिति न्यूनतम हुने व्यवस्था मिलाउनु पर्दछ । कृषिउत्पादनको निम्ति तोकिएका विभिन्न पकेट क्षेत्रहरुमा सो सम्बन्धी गतिविधिहरु समयानुकुल रुपमा भईरहनु पर्दछ । साथै, यी क्षेत्रहरुमा कामगर्ने कृषिमजदुरहरुले समयमै उचित ज्यालापाउने प्रत्याभूति सरकारले गर्ने हो भने कृषि क्षेत्रमा समेत रोजगारीको आकर्षण बढी अन्ततोगत्वा कृषिको विकासमा टेवा नै पुग्नेछ ।
कुनै समय नेपाली कृषिको अवस्था आशालाग्दो देखिन्थ्यो, तर आज त्यो क्षेत्र आफैमा संघर्षरत छ । मुलुकको आर्थिक विकासमा फड्को मार्नमा मुख्य रुपम कृषि क्षेत्रलाई पुनःमाथिउकास्नु पर्ने देखिन्छ । वैदेशिक रोजगारीबाट फर्केकाहरुले आफुसँगै लिएर आएका सीपको साथसाथै पुँजी समेत राज्यले उचित मोडेलको विकास गरेर कृषि क्षेत्रमा लगाउन सक्दछ । यसले आफैमा मुलुकम उल्लेख्य मात्रामा रोजगारीको समेत सिर्जनागर्ने निश्चित छ ।अन्तमा, यस कार्यमा आमनागरिकको तर्फबाट दृढ संकल्पका साथै राज्यप्रति निष्ठा र विश्वास देखाउँदै सक्रिय रहनु पर्ने देखिन्छ भने राज्यकातर्फबाट समेत पारदर्शी कार्यशैली अपनाई सुशासनको प्रत्याभूति दिलाउन जरुरी रहन्छ ।
(लेखक कृषि बिकास बैंक मुख्य कार्यालयका शाखा प्रमुख हुन)
२५ वैशाख २०७७, बिहीवार ०५:१७ बजे प्रकाशित













