प्रधानमन्त्री देउवानिकट नेता लेखक आज अमेरिका जाँदै
सत्तारुढ नेपाली कांग्रेसका नेता रमेश लेखक अमेरिका जाने भएका छन्।पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा संसदबाट अमेरिकी परियोजना एमसीसी पास गराउने कसरतमा रहेका बेला उनी अमेरिका जान लागेका हुन्।
नेता लेखक शुक्रबार राति ८ बजे अमेरिका प्रस्थान गर्ने बताइएको छ। एमसीसी पास गर्न निर्णायक पहल भइरहेका बेला प्रधानमन्त्री देउवाका विश्वासपात्र लेखक अमेरिका भ्रमणमा जान लाग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
तर, उनका स्वकीय सचिव जनक भट्टले नेता लेखक पारिवारिक भेटघाटका लागि अमेरिका जान लागेको बताएका छन्। लेखक पत्नी र छोरीका साथमा अमेरिका जान लागेका उनले जानकारी दिए।
‘दाइको अमेरिका जानु र एमसीसी पासको प्रयास हुनुमा कुनै सम्बन्ध छैन। उहाँ पारिवारिक भेटघाटका लागि जान लाग्नुभएको हो’, भट्टले शुक्रबार बिहान भने, ‘दुई महिनाअघिबाटै अमेरिका जाने तयारी हो। छोरी, भाउजू र उहाँ जान लाग्नुभएको हो।’
लेखक अमेरिकामा झन्डै १ महिना बस्ने बताइएको छ।
२१ माघ २०७८, शुक्रवार ११:४४ बजे प्रकाशित































