सुदुरपश्चिम प्रदेश सरकारको कोरोना कोष बाट ३२ करोड बढी खर्च
सुदूरपश्मि प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस (कोभिड- १९) जोखिम नियन्त्रण तथा व्यवस्थापन कोषबाट हालसम्म ३२ करोड १२ लाख रकम खर्च भइसकेको छ । स्वास्थ्य सामग्री खरिददेखि स्थानीय तहमार्फत गरिएको राहत वितरणको क्रममा सो रकम खर्च भएको प्रदेश सरकारले जनाएको छ ।
प्रदेश सरकारले ४० करोड रुपैयाँ राखेर स्थापना गरेको सो कोषमा बैंक, वित्तीय संस्था, व्यवसायी तथा विभिन्न निजी क्षेत्रबाट समेत नगद तथा खाद्यान्न सहयोग भएको थियो । कोषका लागि अन्य क्षेत्रले २ करोड ३५ लाख रुपैयाँ प्रदान गरेका थिए ।
कोषको जिम्मा पाएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार हालसम्म ३२ करोड १२ लाख रुपैयाँ खर्च भइसकेको छ । खर्च भएको रकममध्ये राहतका लागि स्थानीय निकायलाई १६ करोड दिइएको छ । त्यस्तै भेन्टिलेटरलगायत अन्य स्वास्थ्य सामग्री खरिद गर्न १५ करोड बढी रकम सामाजिक विकास मन्त्रालयलाई दिइएको छ ।
प्रदेशको शान्ति सुरक्षा मजबुत बनाउनका लागि ९ वटै जिल्ला प्रशासन कार्यालय, प्रदेश प्रहरी कार्यालय, नेपाली सेना तथा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई आवश्यक रकम सहयोग गरिएको मन्त्रालयले जनाएको छ । हालसम्म प्रदेश सरकारको रकम, दातृ निकायबाट भएको नगद र खाद्यान्न सहयोगबाट आवश्यक सामग्री खरिद तथा स्थानीय तहलाई नगद हस्तान्तरण गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश बहादुर शाहले बताए ।
स्थानीय तहहरुले प्रदेश सरकारबाट प्राप्त भएको राहत तथा विभिन्न निकायबाट सहयोग भएको रकम तथा खाद्यान्न वितरण गर्ने कार्य जारी छ राखेका छ्न ।
२१ वैशाख २०७७, आइतवार ०१:३२ बजे प्रकाशित













