प्रादेशिक आयुर्वेद अस्पताल तयारी

धनगढीमा प्रादेशिक आयुर्वेद अस्पताल माघदेखि सञ्चालन हुने भएको छ । अस्पतालमा ५० शय्या छन् । सामाजिक विकास मन्त्रालयले अस्पताल प्रमुख (निर्देशक) खटाइसकेको छ । स्वास्थ्यकर्मी एवं कर्मचारीहरूको दरबन्दी स्वीकृत भई पदपूर्तिको तयारी भइरहेको छ । यान्त्रिक उपकरणहरू खरिदसमेत भइसकेका छन् ।

निर्देशक डा.खगेन्द्रबहादुर बमका अनुसार अस्पताल सञ्चालनका लागि प्रदेश र संघ सरकारबाट आवश्यक बजेटको पनि ब्यवस्था भइसकेको छ । ‘३७ जना कर्मचारीको दरबन्दी स्वीकृत भएको छ । माघदेखि पदपूर्तिको प्रक्रिया सुरु गर्छौं,’ डा. बमले भने, ‘अलि अगाडि नै सञ्चालनमा गर्ने लक्ष्य थियो । कोरोनाले गर्दा भवन निर्माणमा ढिलाइका कारण समस्या भएको हो ।’

कैलालीस्थित धनगढी उपमहानगरपालिका—१३ राजपुरमा सुविधासम्पन्न भवनसहित आयुर्वेद अस्पताल सञ्चालनमा आउने भएको हो । भवन निर्माणको काम अन्तिम चरणमा छ । लिफ्ट र फ्लोरिङलगायत केही कामहरू मात्र बाँकी छन् । निर्माण कम्पनी गौरी पार्वती, टीडीआर एमके कन्स्ट्रक्सन जेभिले १६ करोड ३६ लाखमा निर्माण सम्झौता गरेको थियो । ‘पुस महिनाभित्र काम पूरा गर्ने समयसीमा छ,’ निर्माण कम्पनी एमके कन्स्ट्रक्सनका प्रबन्धक चन्द्र शाहले भने, ‘तोकिएकै मितिभित्र काम पूरा गरेर हस्तान्तरण गर्छौं ।’

अस्पतालबाट आयुर्वेदिक विधिको उपचार, फिजियोथेरापी, शल्यचिकित्सा, योग, पूर्वकर्मरपञ्चकर्म, अत्याधुनिक प्रयोगशालालगायत सेवाहरू प्रदान गरिने अस्पतालका निर्देशक डा.बमले बताए । ‘यस प्रादेशिक अस्पतालबाट नसर्ने रोगहरूको रोकथाम र उपचारमा आयुर्वेद र वैकल्पिक चिकित्साको पहुँच बढाउने योजना छ,’ उनले भने ‘अस्पतालमा अन्तरंग र बहिरंग सेवा त उपलब्ध हुने नै छन् ।’ संस्थालाई जडिबुटी तथा आयुर्वेद अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने योजना रहेको उनले सुनाए ।

स्वस्थ जीवनशैली व्यवस्थापन कार्यक्रम र ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्द्धन कार्यक्रम सञ्चालन हुने उनको भनाइ छ । आयुर्वेदसँग विशेषज्ञ सेवा र आयुर्वेद चिकित्सालयमा रुरल फार्मेसी युनिट स्थापना गरेर आयुर्वेद औषधि उत्पादन तथा वितरण गर्ने डा.बमले बताए । प्रदेश सरकारले यसअघि नै प्रदेश आयुर्वेद प्रतिष्ठान ऐन २०७६ तयार गरिसकेको छ ।


८ पुस २०७८, बिहीवार १७:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु