पुस ४ गतेदेखि ५७ जिल्लाका १२ देखि १७ वर्षसम्मका सबै बालबालिकालाई कोरोनाविरुद्धको खोप
बालबालिकाले आउँदो पुस ४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन् ।५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप लगाउने गरी तयारी भइरहेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
विभागको खोप शाखा प्रमुख सागर दाहालले विद्यालयबाटै खोप लगाउने गरी तयारी भइरहेको जानकारी दिए ।यसअघि आएका समेत गरी पर्सि आइतवारसम्म मोडर्नाको ३६ लाख डोज खोप जम्मा हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप आएलगत्तै सबै जिल्लामा पठाइने र पुस ४ गतेदेखि ५७ जिल्लाका बालबालिकालाई खोप लगाउन सुरु हुने खोप शाखा प्रमुख दाहालले जानकारी दिए ।
उनका अनुसार यसअघि फाइजरको खोप दिइएका २० जिल्लामा भने तत्काल मोडर्ना खोप दिइने छैन । यसअघि काठमाण्डौ, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, गोरखा, काभ्रे, कास्की, बाग्लुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुरामा दीर्घ रोगीलाई लगाएर बाँकी रहेको खोप दिइएको थियो ।
तर त्यो खोप १२ देखि १७ वर्ष उमेरका सबै बालबालिकाले पाएका छैनन् ।पहिले ५७ जिल्लामा लगाएपछि २० जिल्लाका बाँकी बालबालिकालाई खोप लगाउने सरकारको तयारी छ ।
२४ मंसिर २०७८, शुक्रवार ०९:१४ बजे प्रकाशित































