ओमिक्रोन भित्रिएपछि सुदूरपश्चिममा सतर्कता, भए यस्ता निर्णय
कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि सुदूरपश्चिम थप सतर्कता अपनाउन थालिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकले ओमिक्रोनको संक्रमण फैलिन नदिन सतर्कता अपनाउने निर्णय गरेको हो ।
बैठकले प्रदेशका नाकाहरुमा रहेका स्वास्थ्य हेल्पडेस्कलाई थप सुदृढ पार्ने, शंकास्पद सबै यात्रुहरुको एन्टिजेन परीक्षण गर्ने, कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्टबारे जानकारीसहित बच्ने उपयाहरु जनसमुदायसम्म पुराउने, स्वास्थ्य संस्थाहरुमा सबै प्रकारको तयारी गर्नेलगायतका निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यलयका अधिकृत जगदीश जोशीले जानकारी दिए ।
बैठकमा प्रदेश आर्थिक मामला मन्त्री तारा लामा तामाङ, सामाजिक विकास मन्त्री लालवहादुर खड्का प्रमुख सचिव, आन्तरिक मामला तथा कानून मन्त्रालयका सचिव लगायत कैलालीका प्रमुख जिल्ला अधिकारी, तीनवटै सुरक्षा निकायका प्रदेश प्रमुखहरुको सहभागिता रहेको थियो ।
नेपालमा सोमबार मात्रै दुई जनामा ओमिक्रोन संक्रमण देखिएको छ । सबैभन्दा पहिले दक्षिण अफ्रिकामा भेटिएको यो भाइरस छिमेकी देश भारत पनि तीब्र रुपमा फैलिन सुरु गरेको छ । जसले गर्दा सरकारले सीमा नाकामा कडाई गर्न थालेको हो । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका करिब ४० मुलुकमा पुगिसकेको छ । यो नयाँ भेरियन्ट तीव्र संक्रामक भएकाले विश्व स्वास्थ्य संगठनले सबैलाई सचेत रहन आग्रह गरेको छ ।
२० मंसिर २०७८, सोमवार १७:०२ बजे प्रकाशित































