छठको रौनक सुरु, सिगारिँदै मोहना नदी किनार
छठ पर्व सुरु भएसंगै कैलालीको मोहना नदी किनार सिगारिन थालिएको छ । मिथिला समुदायले धुमधामका साथ मनाउने छठ पर्वका लागि मोहना नदी किनारलाई झकिझकाउ बनाइँदै छ।
प्रत्येक वर्ष मोहना नदीमा छठ पर्वको अवसरमा मेलासमेत लाग्ने गर्छ । गत वर्ष कोरोनाको सन्त्रासले गर्दा जिल्ला प्रशासनले भिडभाडमा रोक लगाएसंगै छठ पर्व घर आँगनमै मनाइएको थियो । तर यस वर्ष भन्ने कोरोनाको जोखिम कम भएपछि मोहना नदीमै छठ पर्व बनाउने तयारी गरिएको छ ।
‘यस वर्ष मोहना नदीमा १५० वठा स्टल रहने छठ पूजा सेवा समितिका अध्यक्ष सन्तोष मण्डल धानुकले बताए । ‘प्रत्येक वर्ष स्टलहरु बढ्दै आइरेका छन्, उनले भने । ४० देखि ५० हजार दर्शानार्थीहरुको सहभागिता रहने उनले बताए । स्वास्थ्य मापदण्डको पालना गरेर छठ पर्व मनाइने उनले बताए ।

आइतबारका दिन ‘अरबा–अरबाइन’ र आज (सोमबार) ‘नहाय–खाय’ विधि गर्ने व्रतालुले भोलि (मंगलबार) दिउँसभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठी देवीलाई चढाएर प्रसादस्वरुप खानेछन् ।
त्यसपछि षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा पसेर नुहाएसँगै अस्ताउँदा सूर्यलाई अघ्र्य दिएर प्रसाद राखिएको डाली हातमा उठाएर सूर्यलाई देखाइन्छ ।
यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ । यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदा सूर्यलाई अघ्र्य दिएर देखाइएपछि छठ पर्व सम्पन्न हुने परम्परा छ ।
२२ कात्तिक २०७८, सोमवार १५:५७ बजे प्रकाशित































