दोस्रो पटक झोलुङ्गे पुलको टावरमा देखिइन् महिला, टुप्पोमा बसेर योगा गर्दै
केही दिनअघि झोलुङ्गे पुलको टावरमा देखिएकी महिला आइतबार बिहानै फेरी टावरको टुप्पोमा देखिएकी छिन् । यस पटक उनी चाँदनीतर्फको तेस्रो ठूलो टावरमा देखिएकी हुन् ।
बिहानै टावरको टुप्पोमा देखिएकी उनी योगा गरिरहेको अवस्थामा देखिएकी हुन् । टावरमा बसेर उनी सूर्य नमस्कारलगायत विभिन्न आसनमा योगा गरिरहेकी थिइन् । ४/५ वर्षदेखि दोधारा हेल्थपोष्टमा पसल सञ्चालन गरिरहेकी थिइन् ।
ती महिलाका भाइ मनोज भण्डारीका अनुसार उनी आज बिहान ५ बजे घरबाट निस्केकी थिइन् । ६ बजेतिर पुलको टावरमा चढेकी हुन् ।

प्रहरी र स्थानीयले टावरबाट तल आउन आग्रह गर्दा उनले तलबाट सबैलाई हटाएपछि आफै ओर्लिने भनेको उनले बताए ।‘तल प्रहरी र अरू कोही हुनुभएन,’ फोनबाट दिदीसँग भएको कुराबारे भण्डारीले भने, ‘म आफै बेलुकी ६ बजे ओर्लिन्छु, तलबाट नहटे हाम फालिदिन्छु भनिन् ।’
अघिल्लो पटक महेन्द्रनगरतर्फको तेस्रो ठूलो टावरमा चढेकी उनलाई प्रहरीले उद्धार गरेका थिए । त्यति बेला उनले तीन पटक टावरमा चढ्ने भनेकी थिइन् ।भीमदत्त नगरपालिका ६ ऐठपुर घर भएकी ती महिलाको माइत दोधारा चाँदनी नगरपालिका ५ कुमैयाखेडा हो ।
१७ असोज २०७८, आइतवार १०:२८ बजे प्रकाशित































