स्वास्थ्य उपचारका लागि माओवादी नेता पुन बैंकक प्रस्थान
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ स्वास्थ्य उपचारका लागि थाइल्याण्डको राजधानी बैंकक गएका छन् ।उनी बुधबार बिहान सात बजे हिमालय एयरलाइन्सको जहाजबाट बैंकक गएका हुन् ।
माओवादी केन्द्रीय कार्यालय इञ्चार्ज एवम् अर्थ विभाग प्रमुख पुनका प्रेस संयोजक दयानिधि भट्टले भने, ‘बैंककमा हिमालय एयरलाइन्सको कार्गो उडान रहेछ, त्यही जहाजमा उहाँ पनि जानु भएको छ ।’
नेता पुनको साथमा उनकी पत्नी एवम् पूर्वसभामुख ओनसरी घर्ती पनि बैंकक गएकी छन् । पुनको उपचार बैंककको समितिभेज अस्पतालमा हुने छ ।
उनी जण्डिस बिग्रिएपछि देखिने एक प्रकारको समस्याबाट लामो समयदेखि पीडित छन् । यसअघि पनि उनले बैंकको समितिभेज अस्पतालमै उपचार गराएका थिए ।
पुन दम्पतीलाई बिदाइ गर्न माओवादी नेता शक्तिबहादुर बस्नेत, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।
१३ असोज २०७८, बुधवार ०८:२८ बजे प्रकाशित































