प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार सुरु, दुई मन्त्री नियुक्त
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेश मन्त्रीपरिषद् विस्तार सुरु गरेका छन् । उनले शुक्रबार दुई जनालाई मन्त्री नियुक्त गरे ।नेकपा (एकीकृत समाजवादी)को नेतृत्व गरिरहेका माधवकुमार नेपालको साथ छाडेका ताप्लेजुङका बलहादुर सामसोहाङ र तेह्रथुमका लछुमन तिवारीलाई आचार्यले मन्त्री नियुक्त गरेका हुन् ।
तिवारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण र सामसोहाङलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
नवनियुक्त दुबै मन्त्रीलाई शुक्रबार नै प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले शपथग्रहण गराए । मुख्यमन्त्री आचार्यका स्वकीय सचिव अनिल राजधामीका अनुसार पहिलो चरणमा दुई जनालाई मन्त्री नियुक्त गरिएको छ । अरु पनि मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गर्ने योजनामा मुख्यमन्त्री रहेको जानकारी उनले दिए ।
एमाले सचिव एवं पार्टीका प्रदेश इन्चार्ज आचार्य बिहीबार मात्रै प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएर आचार्यलाई मुख्यमन्त्री बन्ने बाटो खुला गरिदिएका थिए । आफू मुख्यमन्त्री बनेको भोलिपल्ट आचार्यले दुई जनालाई मन्त्री बनाउँदै प्रदेश मन्त्रिपरिषद् विस्तार थालेका हुन् ।
११ भदौ २०७८, शुक्रवार १९:२४ बजे प्रकाशित































