बैतडी : मालपोतको राजस्व बढ्यो, घरेलुको घट्यो
मालपोत कार्यालय बैतडीमा राजस्व संकलन बढेको भएको छ।गत आर्थिक वर्षमा कार्यालयले ८३ लाख ३६ हजार ११० रुपैयाँ राजस्व संकलन गरेको छ। आव ०७६र७७ मा ६१ लाख २६ हजार २७९ मात्र राजस्व संकलन भएको थियो।
अघिल्लो आर्थिक वर्षमा भन्दा गत आर्थिक वर्षमा वर्ष २२ लाख ९ हजार ८३१ रुपैयाँ बढी राजस्व संकलन भएको मालपोत कार्यालय बैतडीका कार्यालय प्रमुख दिलाराम भट्टले जानकारी दिए।
कार्यालयले सबैभन्दा बढी रजिष्ट्रेशन शुल्कबापत ५३ लाख २७ हजार ४१३, पुँजीगत लाभकरबापत १३ लाख ४५ हजार ७४२, सेवा शुल्कबाट १६ लाख ५५ हजार ४०५, पूर्जा बिक्रीबाट १ हजार २५० र बेरुजु असुलीबाट ६ हजार ३०० रुपैयाँ संकलन गरेको हो।
जिल्लाका सबै स्थानीयतहमा सडक सञ्जालले जोडिएपछि र बैंकिङ सुविधा भएपछि जमिन किनबेच बढिरहेको छ। जमिन धितो राखेर बैंकबाट ऋण लिनेको संख्या बढेको छ।
यसो हुँदा पनि जमिन रोक्का गर्नेको संख्या बढेका कारण पनि राजस्व प्रत्येक वर्ष बढ्दै गएको हो। कोभिड–१९ नियन्त्रण निम्ति लकडाउन गर्दा राजस्व संकलनमा कमी आएको कार्यालयले जनाएको छ।
घरेलुको घट्यो
घरेलु तथा साना उद्योग कार्यालय बैतडीको गत आर्थिक वर्षमा राजस्व संकलन ५० प्रतिशतले घटेको छ। उद्योग दर्ताको संख्या बढेपनि गत आर्थिक वर्षको राजस्व आर्थिक वर्ष ०७६र७७ मा भन्दा आधाले घटेको हो।
राजस्व घटेपनि उद्योगहरूको संख्यामा भने आर्थिक वर्ष ०७६र०७७ मा भन्दा गत आर्थिक वर्षमा आधाभन्दा बढीले वृद्धि भएको पाइएको छ।
आर्थिक वर्ष ०७६र०७७ मा उद्योगतर्फ कुल राजस्व १६ लाख ६ हजार २०० रुपैयाँ उठेको थियो भने पछिल्लो अवधिमा घटेर ८ लाख ८० हजार ३५० रुपैयाँमात्र संकलन भएको छ।
यस्तै, वाणिज्यतर्फ पनि आर्थिक वर्ष ०७६र०७७ मा २० लाख १६ हजार ८०० रुपैयाँ उठेको थियो भने गतवर्ष घटेर ९ लाख ६५ हजार ५५० रुपैयाँमात्र संकलन भएको घरेलु तथा साना उद्योग कार्यालय बैतडीका प्रमुख अम्बादत्त जोशीले बताए।
आर्थिक वर्ष ०७६र०७७ मा उद्योगतर्फ २५६ उद्योग दर्ता भएको थियो भने गत वर्ष ८४९ उद्योग दर्ता भएका छन्। यसैगरी वाणिज्यतर्फ आर्थिक वर्ष ०७६र०७७ मा ३३१ उद्योग दर्ता भएको थियो भने गत वर्ष बढेर ६८० उद्योग दर्ता भएका छन्।
गत आर्थिक वर्षमा सरकारले उद्योग दर्ता गरेर काम गर्ने महिला र पुरुषलाई राजस्वमा छुट गरेको कारणले गत वर्ष राजस्वमा कमी आएको हो।
गत आर्थिक वर्षदेखि महिलाको नाममा एक लाखसम्म पुँजी भएको उद्योग दर्ता गर्दा दर्ता शुल्कमा ६०० रुपैयाँमात्रै लाग्ने व्यवस्था गरिएको छ भने पुरुषको नाममा दर्ता गर्दा एक हजार १०० रुपैयाँ दर्ता शुल्क लाग्ने गरेको छ।
यस्तै, १० लाख देखि ५० लाख रुपैयाँ पुँजी भएको उद्योग महिलाको नाममा दर्ता गर्दा दुई हजार ६०० र पुरुषको नाममा दर्ता गवर्दा पाँच हजार १०० रुपैयाँ दर्ताशुल्क लिने गरिएको कार्यालयले जनाएको छ।
५ भदौ २०७८, शनिवार १०:४१ बजे प्रकाशित































