बडिमालिकाको प्रचारका लागि साइकल यात्रा
सुदूरपश्चिमका साइकल यात्रीहरूले बडिमालिका यात्रा शुभारम्भ गरेका छन्। साइकल यात्री भारत विक्रम शाहसहित ११ जनाको टोलीले सुदूरपश्चिमको धार्मिक तथा पर्यटकीय गन्तव्यलाई प्रचार–प्रसार गर्ने उदेश्यले बडिमालिका यात्रा सुरु गरेको हो।
कैलालीबाट सुरु गरेको यात्रा टोलीले करिब चार दिनमा साइकल यात्राबाट बडिमालिका पुग्ने लक्ष्य लिएको छ। टोली बुधबार मार्तडी पुगेको छ भने यात्राको क्रममा विभिन्न स्थानमा क्याम्पिङ गर्दै स्वास्थ्य सामग्रीसमेत वितरण गर्ने योजना बनाएको साइकल यात्री भारत विक्रम शाहले जानकारी दिए।
४२०० मिटरको उचाईमा रहेको बडिमालिका सुदूरपश्चिमको एक महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य हो। साइकल यात्राबाट पनि बडिमालिका पुग्न सकिन्छ र हाइ अल्टिच्युडमा साइकल खेलसमेत गर्न सकिन्छ भन्ने जनमानसमा सकारात्मक सन्देश जाओस् भन्ने हेतुका साथ यात्रा सुरु गरेको उनीहरुले बताएका छन्।
२ भदौ २०७८, बुधवार १८:५५ बजे प्रकाशित































