नवगठित एमाले समाजबादी ९५ सदस्यीय, दोस्रो बरियतामा खनाल
नेकपा एमालेबाट विभाजन भएको नेकपा एमाले समाजवादी पार्टी माधवकुमार नेपालको अध्यक्षतामा निर्वाचन आयोगमा दर्ता भएको छ । उनको अध्यक्षतामा ९५ सदस्यीय केन्द्रीय समिति बनाएको छ।
निर्वाचन आयोगमा बुधबार नयाँ दल दर्ताका लागि दिइएको निवेदनमा नेता नेपालको अध्यक्षतामा ९५ सदस्यीय केन्द्रीय कार्यसमिति बनाइने उल्लेख छ।
पार्टीको दोस्रो वरीयतामा झलनाथ खनाललाई राखिएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए। पार्टीमा केपी शर्मा ओली नेतृत्वको एमालेका केन्द्रीय कमिटीबाट ५८ जना केन्द्रीय सदस्यहरु रहेको उनको दाबी छ ।
नेता पाण्डेले संसद् र संविधानको रक्षाका लागि पटक–पटक गरिएको प्रयत्न सम्भव नभएपछि नयाँ दल दर्ता गरिएको बताए। नेता पाण्डेले दल दर्ताको प्रमाणपत्र पाएपछि नवगठित पार्टीले राष्ट्रिय भेला आयोजना गर्ने बताए।
नेपाल समूहले ओली समूहमा रहेका नेता–कार्यकर्ताहरुलाई नवगठित दलमा आउन पनि आह्वानसमेत गरेको छ। उनले ओली नेतृत्वमा रहिरहँदासम्म एमालेसँगको सम्भावना नरहेकोसमेत बताए।
२ भदौ २०७८, बुधवार १७:३६ बजे प्रकाशित






























