बैतडीमा मन्दिरको सुन चोर्ने र किन्ने ५ जना पक्राउ
बैतडी : बैतडीमा ६ महिनापछि मन्दिरको सुन चोरेको आरोपमा ५ जना पक्राउ परेका छन्।
जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रीमस्थित लटिनाथ मन्दिरको ९ तोला सुन चोरेको आरोपमा ५ जनालाई बैतडी प्रहरीले पक्राउ गरेको हो।
उनीहरूले गत पुषमा सुन चोरेको भएपनि ढिलो गरी प्रहरीमा उजुरी आएको बैतडी प्रहरीले जनाएको छ।
सुन चोरेको आरोपमा दोगडाकेदार गाउँपालिका–१ रीमका २० बर्षीय धनबहादुर कार्की, ३५ बर्षीय केशव सार्कीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए।
उनकाअनुसार उनीहरुको बयानका आधारमा सोही ठाउँका लालबहादुर कार्की र हरिकृष्ण सार्कीलाई पनि नियन्त्रणमा लिएको छ।
सुन खरीद गर्ने दार्चुलाको शैल्यशिखर नगरपालिकाका सुनचाँदी व्यवसायी भुवनसिंह साहुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
९ साउन २०७८, शनिवार १६:५९ बजे प्रकाशित































